विराटनगर । सुनसरी एमालेमा पार्टी अध्यक्ष ओली पक्ष र १० बुँदे पक्षबीचको विवाद सतहमा देखिएको छ ।
पार्टी विभाजनपूर्व बनेको १० बुँदे सहमति अनुसार आफू नै सुनसरीको पार्टी अध्यक्ष रहेको रमेशकुमार बस्नेत पक्षले दाबी गर्दै कार्तिक ६ गते हुने वडा अधिवेशन र कार्तिक ९ गते हुने पालिकास्तरको अधिवेशनहरु २०७५ जेठ २ गते कायम रहेका तत्तत् स्तरका कमिटिको सहमतिमा मात्रै सम्पन्न गर्न आव्हान गरेको छ । सो पक्षले कार्तिक ३ गते एक विज्ञप्ति जारी गर्दै एमाले सुनसरी जिल्ला कमिटी सचिवालय बैठकको निर्णय भन्दै रेवती रमण भण्डारीबाट जारी भएको कार्तिक २ गतेको विज्ञप्तिप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
बस्नेत पक्षको विज्ञप्ति आएको पर्सिपल्ट अर्थात् कार्तिक ५ गते अर्को विज्ञप्ति प्रकाशित गर्दै भण्डारी पक्षले पनि निरौला र बस्नेतले दस्तखत गरी २०७८ साल कार्तिक ३ गते जारी गरिएको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
प्रचार विभाग प्रमुख रवि खनालले एक विज्ञप्ति प्रकाशित गर्दै बस्नेत प्रदेश समिति सदस्य रहेको र निरौला सुनसरी पार्टीको इन्चार्ज रहेको उल्लेख गरेको छ । बस्नेत र निरौलाले जारी गरेको विज्ञप्तिमा भने बस्ने पार्टीको सुनसरी अध्यक्ष र निरौला केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रहेको उल्लेख गरिएको छ ।
‘विज्ञप्तिमा उल्लेखित सम्पूर्ण व्यहोरा झुठा, भ्रामक र तथ्यहिन भएको व्यहोरा सम्पूर्ण पार्टी सदस्यलाई जानकारी गराइन्छ,’ खनालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘उक्त भ्रामक विज्ञप्तिमा पार्टी केन्द्रिय कमिटीको २०७८ भाद्र ८ गतेको स्थायी कमिटी बैठक र १० गते बसेको केन्द्रीय कमिटी बैठकका निर्णयका आधारमा २०७८ भाद्र १३ गते केन्द्रीय कार्यालयबाट जारी गरिएको अन्तरपार्टी निर्देशन १२ मा २०७५ जेष्ठ २ गतेको अवस्थामा सम्पूर्ण कमिटी र जिम्मेवारी जस्ताको तस्तै कार्यान्वयन गर्नु गराउनु भनी कहिं कतै निर्देशन नभएको हँुदा झुठा र भ्रामक कुराहरू सम्प्रेषण गरिएको र पार्टी प्रदेश कमिटीको सचिवालयको विस्तारित बैठक र कार्यदलबाट पदाधिकारी सिफारिस भएको व्यहोराको निर्णय र सर्कुलर जारी नभएको हँुदा कहिं कतै भ्रममा नपर्न हुन र प्रभावित बनाई पार्टी हितको विपरीत नलाग्न हुन जिम्मेबार कमरेडहरूलाई अनुरोध गर्दै आसन्न वडा तथा पालिकास्तरिय अधिवेशनहरू सफलतापूर्वक सम्पन्न गर्ने गराउने जिम्मेवारी पुरा गर्ने दायित्वबाट उम्कन नहुने तथ्यप्रति हामी सबै गम्भीर हुन आवश्यक छ ।’
विज्ञप्तिमा नेकपा(एमाले) सुनसरी जिल्ला कमिटी भण्डारीको अध्यक्षतामा नै क्रियाशिल रहेको उल्लेख छ । ‘यही कमिटीलाई पार्टी केन्द्रीय कमिटी र कार्यालयसमेतले मान्यता दिई सुनसरीको पार्टी कामलाई व्यवस्थित गर्न यसै कमिटीमार्फत अघि बढीरहेको तथ्यलाई आत्मसात गर्दै कुनै झुठा र भ्रमपूर्ण विज्ञप्तिबाट अलमलमा नपरी आगामी कार्तिक ६ गतेको वडा अधिवेशन र ९ गतेको पालिकास्तरिय अधिवेशनलाई सम्पन्न गर्न सम्पूर्ण कार्यकर्ता तथा पार्टी सदस्य कमरेडहरूमा हार्दिक अपिल गरिन्छ,’ खनालले विज्ञप्तिमा भनेका छन् ।
यसअघि ३ गते बस्नेत र निरौलाले जारी गरेको विज्ञप्तिमा भने अन्तरपार्टी निर्देशन १२ कै आधारमा गठित प्रदेशस्तरीय सहजीकरण कार्यदलले नेकपा (एमाले) सुनसरी जिल्ला कमिटीको पदाधिकारीमा अध्यक्ष रमेशकुमार बस्नेत, उपाध्यक्ष नन्दकुमार बस्नेत, सचिव पर्शुराम यादव र उपसचिव लिलम बस्नेतको नाम सिफारिस गरेको उल्लेख छ । यस्तै सहजीकरण कार्यदलका सम्पूर्ण सदस्यसहितको उपस्थितिमा सम्पन्न भएको प्रदेश सचिवालयको विस्तारित बैठकले समेत कार्यदलबाट सिफारिस पदाधिकारीको नाम अनुमोदन गरेको जनाएको छ ।
‘प्रदेश कमिटीको बैठकको निर्णयबाट अनुमोदित जिल्ला कमिटीका पदाधिकारीहरु र २०७५ जेठ २ गते कायम रहेका कमिटीहरुको निर्देशन बाहेक अन्य अनाधिकृत व्यक्तिद्वारा निर्देशित निर्देशन र जानकारीमा भ्रममा नपर्न पार्टी पंक्ति र सम्बद्ध निकायमा यसै विज्ञप्तिमार्फत जानकारी गराउँछौं,’ निरौला र बस्नेतले जारी गरेको विज्ञिप्तिमा उल्लेख छ ।