विराटनगर । लगातारको बर्षासँगै आएको बाढी र पहिरोमा परेर प्रदेश १ मा बिहीबार साँझसम्ममा ६२ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इलाममा १४, पाँचथरमा २८, उदयपुरमा २, धनकुटामा ७, सुनसरीमा ८ जना, मोरङ, भोजपुर र सोलुखुम्बुमा १/१ रहेको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविन राज राईले जानकारी दिए । उनका अनुसार हालसम्म १३ जना बेपत्ता रहेका छन् ।
बेपत्ताको खोजी कार्य जारी रहेको छ । जसमा पाँचथरमा ६, इलाममा १, मोरङमा ३ र सुनसरीमा ३ गरि १३ जना बेपत्ता रहेका छन् ।

मृत्यु भएका मध्ये ५३ जनाको पहिचान खुलेको छ । ९ जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । जसमा २६ पुरुष, १७ महिला, ७ बालक र ३ बालिकाको बाढी र पहिरोमा परेर मृत्यु भएको छ ।

बाढीका कारण तराईको झापा, सुनसरी र मोरङ बढी प्रभावित भएका छन् । मोरङको विभिन्न स्थानमा दुई हजार बढी घर डुवानमा परि हजारौं विस्थापित भएको प्रहरीले जनाएको छ । मंगलबार राति सुनसरीको विभिन्न स्थानबाट १ सय ५० जनाको उद्धार गरिएको थियो । मोरङमा करिब पाँच सयभन्दा बढी उद्धार गरिएको छ । विराटनगर १, २, ७, ८, ११, १२, १५, १७, १८ का सयौं घर डुवानमा परेको छ । बुढीगंगा गाउँपालिका १ र २, शान्ति चौक बस्ती डुवानमा परेको छ । रतुवामाइ नगरपालिका ७ मा ३० घर डुवानमा परेको प्रहरीले जनाएको छ । रतुवाखोलाको बान फुटेर बस्तीमा खोला पसेको छ ।