उर्लाबारी । मोरङको उर्लाबारीकी मीना बरालको ४८ जना सन्तान छन् भन्दा कसैलाई पत्यार लाग्दैन । उनी आफैंले त्यति धेरै सन्तानलाई जन्म दिएकी हैनन् । मीनाले सडकमा भेटिएका बालबालिकालाई कर्म दिने आमाको भूमिका निर्वाह गरिरहेकी छन् ।
२०५७ सालमा महिला विकास तथा बालबालिका चेतना केन्द्रद्वारा असहाय वृद्ध अनाथ आश्रम नामक गैरसरकारी संस्था दर्ता गरेर काम थाल्दा मीनाले ‘कमाइखाने’ भाँडो बनाउन खोजेको भन्दै कतिपयले कुरा काटे । त्यो बेला उनलाई राम्रो काम गर्न खोज्दा पनि साथ नपाइने हो कि भन्ने चिन्ताले सताएको थियो । तर, उर्लाबारी–७ मा बालगृह सञ्चालनमा आएको २१ वर्ष भइसकेको छ ।
२०२२ सालमा १० वर्षकै उमेरमा मोरङबाट विवाह गरेर ताप्लेजुङ पुगेकी मीनाको वैवाहिक जीवन सफल हुन नसक्नु नै यो बालगृह जन्मिने मुख्य कारण हो । त्यतिबेला पढ्ने उमेरमा विवाह भएकाले पछुतो मानिरहेकी उनले नयाँ घरमा लामो समयसम्म संघर्ष गरिरहिन् । तर, श्रीमानले अर्की श्रीमती थपेर आफूलाई पाखा लगाएपछि आत्मसन्तोष र शान्तिको खोजी गर्दै उनी समाज सेवामा लागिन् ।
आफूले सानैमा विवाह गर्दा भोगेको जस्तो पीडा अरू कुनै पनि अनाथ बालबालिकाले भोग्नु नपरोस् भनेर मोरङ उर्लाबारीमा असहाय वृद्ध अनाथ आश्रम खोल्ने निधो गरिन् । उनको यो अभियानमा अन्य महिलाहरूले पनि होस्टेमा हैसे मिलाए । मीनाकै योजनामा सञ्चालनमा ल्याइएको नमूनाबाल गृह प्रदेश १ कै उत्कृष्ट बाल गृहका रूपमा रहेको छ । समाजसेवाप्रति उत्साहित मीना आफ्नो पीडा भुलेर ४८ जना बालबालिकाहरूको अभिभावक बनेकी छन् । मीनालाई बालबालिकाले ‘आमा’ भनेर सम्वोधन गर्छन् । दिनरात नभनेर उनी बालबालिकाको सेवामा जुटिरहेकी उनी काखे शिशुदेखि उच्च मावि तहसम्म पढ्ने बालबालिकाकी आमा हुन् ।
सुरुमा विरोध गर्नेहरूले पनि अहिले सकारात्मक रूपमा लिन थालेको मीनाको भनाई छ । समाजमा उनको कामप्रति सकारात्मकता बढेपछि उनलाई थप उर्जा मिलेको छ । आफ्नो लगाव र मेहनतका कारण समाजसेवाका कर्महरूमा कम बाधा अड्चन नआएको उनले सुनाइन् ।
निरन्तर आफ्नै गतिमा समाजसेवामा हिँडिरहेकी छन् । वैवाहिक जीवन असफल भएपछि अर्काे विहे गरेर सीमित सन्तानकी आमा बन्ने अवसर छाडेर असंख्य सन्तानकी आमा बन्ने अवसर संगालिरहेकी मीना अहिले मुलुककै उदाहरणीय आमा बनेकी छन् । अहिले मीनाका ४८ जना सन्तान छन् ।
२०५९ सालमा आश्रमको भवन निर्माण पूरा नहुँदै मीनाले ७ जना असहाय बालबालिका र दुई जना वद्धवृद्धालाई आफ्नै घरमा राखेर पालनपोषण थालेकी थिइन् । भवन निर्माण सम्पन्न भएसँगै आश्रममा बालबालिका र वद्धवृद्धालाई स्थानान्तरण गरियो । अरू असहाय बालबालिका र वृद्धवृद्धा पनि थपिन थाले ।
हाल मेचीदेखि महाकालीसम्मका २२ जिल्लाका बालबालिकाहरू आश्रित छन् । मीनाले थालेको यो अभियानमा स्थानीय समाजसेवी तथा महिला नेतृहरू भागिरथा अधिकारी, सीतादेबी निरौला, अतिहिरा राई, हीरादेबी राई, चन्द्रकला गौतम, सुशिला थापा, कविता थापा, देवका खनाल, मीनादेबी कार्की, लक्ष्मीदेबी सुब्बा र रामप्यारी तामाङले सुरुवाती चरणमा साथ र हौसला दिएका थिए ।
आश्रम सञ्चालक समितिमा महिलाहरूको ६० प्रतिशत र पुरुषहरूको ४० प्रतिशत प्रतिनिधित्व रहेको छ । सोही गृहकी बालिकाको नामबाट यसको नाम नमूना बालगृह राखिएको हो । बालगृह सञ्चालन गर्न वार्षिक १८ लाख रुपैयाँ खर्च हुने गरेको मीनाको भनाइ छ ।
मीनाले आफ्नो भएभरको सम्पत्ति बालगृहको नाममा हस्तान्तरण गरिसकेकी छन् । मीनाले गृहलाई आफ्नो सम्पत्ति बिक्रीबाट आएको ७० लाख रुपैयाँ बालबालिकाको भबिष्य निर्माणका लागि प्रदान गरेकी हुन् । बालगृहको अक्षकोषमा रहेको रकमले उर्लाबारी–७ को बैँशाबारीमा १ विगाह ५ कट्ठा जग्गा खरिद गरिएको छ । उक्त जग्गामा नमूना कृषि फार्म दर्ता गरी सञ्चालन गर्ने प्रक्रिया थालिएको छ ।
नमूना बालगृहमा आश्रित आठ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका छन् । उनीहरूको नागरिकता बालगृहले नै बनाइदिएको हो । यहाँ बस्ने प्रत्येक बालबालिकाको जन्मदर्ता उर्लाबारी नगरपालिकाले गर्ने गर्छ ।
नागरिकता बनाउँदा बाबु वा आमाले गर्ने सनाखत बालगृहले नै गर्दा अहिलेसम्म कुनै कानुनी र व्यवहारिक अड्चन भने नदेखिएको मीनाको भनाइ छ । सबैको साथ र सहयोगका कारण नागरिकता बनाउन सहज भएको उनी बताउँछिन् ।