सिटिजन्स बैंकमा २१ लाखभन्दा बढी रकम लुटपाटको भिडियो बाहिरियो

बैंकको कर्सिया शाखाबाट २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ भेटिएको छैन

विराटनगर । मोरङको कर्सियास्थित सिटिजन्स बैंकदेखि हतियारसहित आएको समूहले २१ लाखभन्दा बढी लुटेर लगेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

बैंकको कर्सिया शाखाबाट २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ भेटिएको छैन । सो रकम हतितयारसहित आएका आठ जनाको लुटेरा समूहले नै लुटेर लगेको निष्कर्षमा प्रहरी पुगेको छ ।

सोमबार दिउँसो ८ जनाको समूहले बैंक लुटपाट गरेको थियो । ‘बैंकभित्र तीन जना पसेको देखिएको छ । एक जना सेता टिसर्ट लगाएको र दुइ जनाले रातो सर्ट लगाएका छन् । पेस्तोल देखाएर सुरक्षा गार्डलाई गोली हानेपछि बैंकमा कर्मचारी काउन्टर छोडेर भागेको सिसिटिभी फुटेजमा देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘काउन्टरमा लुटेरा पसेपछि सेता टिर्सट लगाएका लुटेराले रातो गाम्छामा पैसा हाल्छन् भने बाहिर रातो सर्ट लगाएका अर्का लुटेरालाई पनि पैसा दिन्छन् । तीनले पनि गोजीमा पैसा हालेको प्रष्ट रूपमा सिसी टिभि फुटेजमा देखिन्छ ।’

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीका अनुसार सोमबार राति करिब १० बजे बैंकले २१ लाखभन्दा बढी रकम लुटपाट भएको बैंकले जानकारी गराएको हो । प्रहरीले लुटपाटमा संलग्न दुई जना भारतीयसहित तीन जनालाई पक्राउ गरेको बताए । प्रहरीले भारतको अररिया जिल्लाको शिवपुरदेखि ३२ वर्षीय सुनिल यादव, भारत गौराहाका ३५ वर्षीय विजय बहरदार र विराटनगरका ३२ वर्षीय श्याम मुखियालाई पक्राउ गरेको छ ।

उनीहरूलाई भारततर्फ भाग्न लाग्दा सीमा नाकादेखि पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए । बैंक लुटेर को २५ प ३८९९ नम्बरको पल्सरमा भारतर्फ भान्न खोज्दा प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले लुटेरालाई पक्राउ गर्न खोज्दा भारतीय नागरिक विजय बहरदार फरार भएपछि बाया खुट्टामा गोली लागेको छ । लुटपाट गरेका मध्यै बैंकभित्र प्रवेश गरेका रातो टिर्सट लगाउने विराटनगरका सहनी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले लुटपाटमा प्रयोग गरेको कटुवा पेस्तोल खैरवनास्थित बाँस झ्याङदेखि बरामद गरेको प्रहरीले जनाएको छ । सोमबार साँझसम्म बैंकले लुटपाटको असफल प्रयास भएको बताएको थियो । तर बैंकमा भएको पैसाको हिसाब गर्दा लुटेरा समूहले पैसा लगेको पुष्टि भएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालका अनुसार बैंकले २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ लुटिएको जानकारी गराएको छ । लुटपाट भएको रकम भेटिएको छैन ।

प्रहरीका अनुसार चारवटा मोटसाइकलमा ८ जनाको समूह आएको थियो । तीमध्ये एउटा मोटरसाइकलसहित तीन जना पक्राउ परेका छन् । लुटपाटमा प्रयोग भएको पेस्तोल पनि भेटिएको छ ।

सोमबार दिउँसो ८ जनाको लुटेरा समूह बैंकभित्र प्रवेश गर्दा सुरक्षा गार्ड शितल कुँवरले रोक्ने प्रयास गरे । लुटेरा समूहले पेस्तोल देखाएपछि कुँवरले उनीहरुको हतियार खोस्न खोजे । सो क्रममा लुटेरा समूहले २ राउण्ड गोली चलायो ।

एक राउण्ड गोली सुरक्षा गार्ड ३७ वर्षीय शितल कुँवरको कुममा गोली लागेको छ । उनको अहिले उपचार विराटनगरस्थित न्यूरोमा भइरहेको छ ।

मङ्गलबार, २६ असोज, २०७८, रातीको ०८:२० बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर