मोरङको कर्सियामा बैंक लुटने असफल प्रयास, लुटेरा समूह पक्राउ

विराटनगर  । मोरङको धनपालथान गाउँपालिकाको कर्सियामा बैंक लुट्ने प्रयासमा रहेको लुटेरा समूहलाई प्रहरीले पक्राउ गरेको छ । दुई जना भारतीयसहित तीन जनालाई प्रहरीले नेपाल भारत सीमा नाका मोरङको धनपालथान गाउँपालिका २ खैरवनाबाट सोमबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दुई जना भारतीय नागरिक र एक जना नेपाली छन् । नेपाली नागरिक विराटनगर घर भएको सुरक्षा स्रोतले जानकारी दिएको छ । पक्राउ परेको लुटरा समूहमा को –को छन भन्ने प्रहरीले अहिले गोप्य राखेको छ । उनीहरूलाई अहिले इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर अनुसन्धान सुरू गरेको छ ।

सोमबार दिउँसो सिटिजन्स बैंकको कर्सिया शाखामा रकम लुट्ने उद्देश्यले छिरेको समूहलाई सुरक्षागार्डले रोक्न खोजेका थिए, त्यसक्रममा गार्डलाई लुटेरा समूहले चलाएको गोली लागेको छ । उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उनीहरुलाई पक्राउ गर्ने क्रममा प्रहरीले पनि गोली चलाएको छ । पक्राउ परेकामध्ये एक जनाको तीघ्रामा गोली लागेको सुरक्षा स्रोतले जानकारी दिए ।

गोली चलेलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जर्नादन जिसी, डिएसपी मन्जिल मुकारूङ घटनास्थलमा छन् । अहिले घटनाको अनुसन्धान भइरहेको एसपी जिसीले जानकारी दिए । उनले तीन जना पक्राउ परेको जानकारी दिएका छन् ।

सोमबार, २५ असोज, २०७८, साँझको ०५:४१ बजे

प्रतिक्रिया

  1. मैले बुझे अनुसार लुटेरा समाउन मा आम नागरिकको बढी सहयोग रहेको छ।प्रहरीलाई भन्दा पनि जनताले राम्रो गरेको प्रोत्साहन दिनु पर्ने हो।

प्रतिक्रिया:

सम्बन्धित खवर