प्रदेश सरकार र सभामुखको संसदमा चर्को आलोचना

विराटनगर । प्रदेशसभामा विपक्षी दलका नेताहरुले प्रदेश सरकार र सभामुखको चर्को आलोचना गरेका छन् । संविधान र कानून विपरित सरकारले संविधानको गलत ब्याख्या गर्ने र त्यसमा सभामुखले सहयोग गरेको भन्दै प्रदेशसभाको आइबारको बैठकमा नेताहरुले चर्को विरोध गरेका हुन् ।
गठन हुँदै प्रष्ट अल्पमतमा परिसकेको भीम आचार्य नेतृत्वको प्रदेश १ सरकारले कार्यकर्तालाई विभिन्न नियुक्ति दिलाउन सरकारको आयु लम्ब्याउन चाहेको आरोप समेत नेताहरुले लगाएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता इन्द्र आङ्बो र एकीकृत समाजवादीका नेता राजेन्द्र राईले विशेष समय लिएर बोल्दै सरकार निर्लज्ज बनेर आयु लम्ब्याउन लागेको र त्यसमा सभामुखले साथ दिएको उनीहरुले बताएका थिए ।

‘सरकारले प्रस्ताव ल्याएको छैन भनेर सभामुखले छुट पाउनुहुन्न,’ ती दुवै नेताको साझा कथन थियो ‘सभामुख व्यवस्थापिका प्रमुख हो । सरकार संविधान बाहिर जाँदा उहाँले सरकारलाई रुलिङ गर्नुपर्छ ।’

एमालेमा छँदा तत्कालीन माधव नेपाल समूह निकट रहेका आचार्यका विश्वासपात्र सभामुख प्रदीप भण्डारीले शनिबार दिनभर विपक्षी गठबन्धनका नेताहरुलाई फोन गरेर दसैंपछिसम्म पर्खिदिन आग्रह नै गरेका थिए ।

तर, विपक्षी दलका नेताहरुले दसैं भनेर धर नपाइने भन्दै संसद् जारी राख्नुपर्ने माग गरेका छन् । सभामुखले सोमबार एक बजेका लागि संसद् बोलाएका छन् । तर, यसरी संसद् बोलाए पनि सभामुखले आजै साँझसम्ममा सूचना टाँसेर संसद् स्थगन गर्ने योजना बनाएको संसद् सचिवालय स्रोतले जानकारी दिएको छ ।

नेकपा एमाले र जनता समाजवादी पार्टी एकै दिन विभाजित हुँदा समान राजनीतिक घटनाक्रमबाट गुज्रिएका तीन वटा प्रदेश सरकारहरुमध्ये प्रदेश २ का मुख्यमन्त्रीले विश्वासको मत लिइसकेका छन् । आइतबार विश्वासको मत लिने तय बागमतीमा भइसकेको छ । प्रदेश १ मा भने आइतबार प्रस्ताव समेत दर्ता भएको छैन ।
मुख्यमन्त्रीले प्रतिनिधित्व गरेको दल विभाजित भए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानलाई आफू अनुकूल व्याख्या गरिरहेको सरकारले आइतबार अपरान्हसम्म पनि विश्वासको मत चाहिएको प्रस्ताव संसद्मा पठाएको छैन ।

धमाधम नियुक्तिको तयारी
प्रदेश सरकारको उच्च स्रोतले दिएको जानकारी अनुसार दसैंअघि नै प्रदेश खेलकुदको सदस्य सचिवमा एमाले कार्यकर्ता परशुराम बस्नेतलाई नियुक्ति दिलाउने योजनामा सरकार छ । ‘परशुराम बस्नेतलाई सदस्य सचिव बनाउन पार्टी केन्द्रबाट लगातार दबाब आइरहेको छ,’ प्रदेश मन्त्रीपरिषदका एक सदस्यले भने ‘खासगरी महासचिव इश्वर पोखरेलको ठूलो दबाब छ । त्यही तयारी भइरहेको छ ।’

सरकारले यस्तो तयारी गरे पनि प्रदेश सरकारका उच्च तहका कर्मचारीहरु निर्णयबाट तर्किन भागिरहेको ती मन्त्रीले जानकारी दिए । ‘कर्मचारीहरुले असयोग गरेको ब्ुझिँदैछ,’ ती मन्त्रीले भने ‘तर, दसैंअघि नै त्यो सहितको केही नियुक्ति ह्ुनेछ ।’ यसबाहेक प्रदेश योजना आयोगसहितका केही आयोग र समितिमा पनि नियुक्तिको तयारीमा सरकार लागेको छ ।

आइतबार, २४ असोज, २०७८, दिउँसोको ०३:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर