विराटनगर । मोरङ कारागारबाट सरुवा भएका चौकीदार नविन राईलाई प्रहरीले स्कर्टिङ गरेर सुनसरीको झुम्का कारागार पु¥याएको छ । झुम्का कारागार सरुवा भएका राई जान नमानेपछि प्रशासनले उनलाई सोमबार साँझतिर स्कर्टिङ गरेर कारागार पु¥याएको हो ।

गृह मन्त्रालयले एक महिना अगाडि सरूवा गरेका राई मोरङ कारागार छाड्न आनकानी गर्दै आएका थिए । बाहिर निस्कन नमानेपछि उनलाई लैजान कारागार प्रशासनले ठूलो संख्यामा प्रहरी बोलाएको थियो । कारागार परिसरमा मोरङ प्रहरीले ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो । चौकीदार राईलाई दिउँसो ३ बजे लैजाने तयारी गरिएको थियो । तर, उनी जेल भित्रबाट बाहिर निस्कन नमानेपछि सम्झाइ बुझाइ गरेर पाँच बजे झुम्का कारागार पठाएको जेलर रामप्रसाद पोखरेलले बताए ।

कर्तव्य ज्यान मुद्दाका प्रतिवादी राई मोरङ कारागारमा तीन वर्षदेखि चौकीदारको रूपमा कार्यरत थिए । उनको स्थानमा अपहरण आरोपमा जेलमा रहेका अभिषेक गिरीलाई मोरङ कारागार ल्याउने तयारी स्वरुप उनको सरुवा गरिएको स्रोतको भनाइ छ । गिरी नआउन्जेलसम्मको लागि कर्तव्य ज्यान मुद्दाका किरण गुरूङलाई चौकीदार बनाइएको छ । अर्को व्यवस्था नभएसम्मको लागि गुरूङलाई मोरङ कारागारको चौकीदारको रूपमा नियुक्ति गरिएको मोरङ कारागारका जेलर रामप्रसाद पोखरेलले जानकारी दिए । गुरूङ कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका व्यक्ति हुन् । उनी पाँच वर्षदेखि मोरङ कारागारमा छन् ।

डिल्लीबजार कारागारमा रहेका गिरीलाई कारागार व्यवस्थापन विभागले मोरङ जिल्लामा सरुवा गरेको थियो । तर, सरकार परिवर्तनसँगै जहाँबाट सरुवा गरियो त्यहीँ ल्याउने निर्णयको विरोध भएपछि अहिले स्थगित गरिएको छ । गिरी यसअघि मोरङ जिल्लाबाटै डिल्लीबजार कारागार सारिएका थिए । मोरङ जेलबाटै फिरौती र व्यवसायीसँग असुली धन्दा चलाएको आरोपमा २०७४ चैत २३ गते डिल्लीबजार कारागार सरुवा गरिएको थियो । गिरीलाई नेपाली कांग्रेसका नेताहरूको दबाबमा मोरङ कारागार सरुवाको निर्णय गरिएको बताइन्छ । कांग्रेसनिकट गिरी विराटनगरका स्थानीय हुन् । साधारणतः एकपटक सरुवा भइसकेको कैदीलाई पुनः त्यही ठाउँमा सरुवा नगर्ने नियम भए पनि विभागले गिरीलाई मोरङ पठाउने निर्णय गरेको थियो । त्यसको आलोचना भएपछि तत्काललाई स्थगित गरिएको छ ।

गिरीसँगै जेलमा रहेका सहयोगी राजु श्रेष्ठलाई पनि मोरङ कारागार स्थानान्तरण गर्ने निर्णय गरिएको छ । गत भदौ १७ गतेको निर्णय अनुसार गिरी र श्रेष्ठलाई मोरङ कारागार सरुवा गर्ने भनिएको थियो । झण्डै एक हजार कैदीबन्दी रहेको मोरङ कारागारमा मासिक रुपमा धेरै ठूलो धनराशीको चलखेल हुने गर्दछ । जेलभित्र चौकीदारको आम्दानी राम्रो हुन्छ । बाहिर बजार मूल्यमा खरिद गरिएका सामाग्री पाँच गुणासम्म मूल्य बढाएर कारागारभित्र चौकीदारले बिक्री गरेर नाफा असुल्ने गर्दछन् ।

गिरीको मोरङ कारागार सरुवाले कारागारका कैदीबन्दी भने त्रसित बनेका छन् । करण यादवको हत्या आरोपमा गिरीलाई अदालतले २०६९ सालमा सफाइ दिएको थियो । २०६६ सालमा कारागारबाटै पर्शुराम बस्नेतलाई गोली हानेर हत्या गर्न खोजेको आरोप पनि गिरीलाई लागेको थियो । युवती प्रयोग गरी सरकारी कर्मचारीलाई बन्धक बनाएर फिरौती मागेको आरोपमा गिरी र श्रेष्ठलाई प्रहरीले फेरि २०७० सालमा पक्राउ गरेको थियो ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका लेखा सहायक अच्युतप्रसाद रेग्मीलाई बन्धक बनाएर रकम मागेको आरोपमा गिरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको थियो । गिरीले आफ्नी प्रेमिकालाई प्रयोग गरेर रेग्मीलाई बन्धक बनाएका थिए । गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोग सम्पत्तिमा शुद्धीकरण विभागले समेत गिरीमाथि विशेष अदालतमा मुद्दा चलाएको थियो । अदालतबाट ३० लाख धरौटी तिरेर गिरी छुटेका थिए ।