इटहरी । इटहरीमा एक महिला सामूहिक बलात्कारको शिकार बनेकी छन् ।
सुनसरी प्रहरीका अनुसार ‘इभिनिङ वाक’मा निस्केकी महिलामाथि सामूहिक बलात्कार भएको हो । इटहरी उपमहानगरपालिका ८ भुर्कीमा ३० वर्षीया महिलामाथि असोज १५ गते सामूहिक बलात्कार भएको हो। तर यो घटना प्रहरीले सोमबार मात्रै सार्वजनिक गरेको छ।
ती महिलालाई अपरान्ह ५ बजे ६ जना पुरुषले कुटपिट गरी बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। कुटपिटपछि धान खेतमा लगेर उनीमाथि सामूहिक बलात्कार भएको प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए।
बलात्कारपछि ती महिलाको दुई तोला चार आनाको सुनको सिक्री र नगद तीन हजार लुटपाटसमेत भएको छ ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये चार जना नाबालक १८ वर्षमुनिका छन्।
अर्का एक जना भने फरार रहेको थापाले बताए। पक्राउ परेका सबैलाई जबरजस्ती करणी कसुरमा अनुसन्धान अघि बढाइएको उनले बताए। पक्राउ परेकामध्ये इटहरी १४ का सुनिल चौधरीलाई प्रहरीले सार्वजनिक गरेको छ।

