कांग्रेसको गाउँनगर अधिवेशन : मोरङमा रक्षात्मक बन्यो संस्थापन

विराटनगर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङमा सम्पन्न गाउँ–नगरको अधिवेशनमा संस्थापन इतर पक्षले बलियो पकड कायम गरेको छ ।

मोरङका १७ पालिकामध्ये विराटनगर महानगरसहित १५ पालिकामा शनिबार भएको निर्वाचनमा कांग्रेस संस्थापन पक्षले जहदा र धनपालथान गाउँपालिकाको मात्र नेतृत्व हात पारेको छ ।
विराटनगर महानगरको सभापतिमा संस्थापनइतर समूहबाट दीपक चापागाई निर्वाचित भएका छन् । निकटतम प्रतिष्पर्धी सन्तोष न्यौपानेलाई ४७ मत अन्तरले पराजित गर्दै नेता शेखर कोइरालानिकट चापागाई सभापतिमा निर्वाचित भएका हुन् ।

महानगर सभापतिका लागि चार जनाबीच प्रतिष्पर्धा भएको थियो । संस्थापनबाट न्यौपाने एक्ला उम्मेदवार थिए भने पौडेल–कोइराला समूहबाट तीन जना प्रतिष्पर्र्धी थिए ।

विराटनगर महानगरमा उपसभापतिहरुमा इन्दु सुवेदी खतिवडा र निरज कोइराला संस्थापनइतर समूहबाट निर्वाचित भएका छन् । सचिवमा संस्थापन समूहकी झुमा निरौला र कोइराला समूहबाट तेजिन्द्र भट्टराई निर्वाचित भएका छन् । सहसचिवमा पनि दुवै पक्षबाट जितेका छन् । सहसचिवमा निर्वाचित दिवश नेपाल कोइराला समूहका हुन् भने सचिन पोखरेल संस्थापन पक्षका हुन् ।

मोरङको १७ वटा स्थानीय तहमध्ये चारवटा स्थानीय तहमा सहमतिका आधारमा नेतृत्व चयन भएको थियो । निर्वाचन भएका १३ पालिकामध्ये ११ पालिकामा पूर्वसंस्थापन पक्ष निर्वाचित भएका हुन् । मोरङको मिक्लाजुङ गाउँपालिका सभापतिमा बबि राई १३७ मतका साथ निर्वाचित भए । यस्तै कटहरी गाउँपालिकामा रामकुमार कामत ८३ मत प्राप्त गरी सभापतिमा निर्वाचित भए ।

धनपालथानमा संस्थापन समूहका दीपकवीर पाण्डे ८३ मत प्राप्त गरी सभापतिमा निर्वाचित बने । बेलबारी नगरपालिकाको नगर सभापतिमा पौडेल–कोइराला पक्षका छत्र लिम्बू १३६ मतका साथ बिजयी बने । कानेपोखरी गाउँपालिकाका योगेन्द्र दाहाल ७३ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका छन् । मोरङको सुनवर्सी नगरपालिकामा कमलकिशोर गनगाईले १०५ मत ल्याएर सभापतिमा पद जितेका छन् भने पथरीशनिश्चरे नगरपालिका सभापतिमा रुपनारायण भट्टराई ८२ मतका साथ सभापतिमा निर्वाचित बनेका छन् ।

रंगेली नगरपालिकाका नगर सभापतिमा जगरनाथ मण्डल १०६ मतप्राप्त गर्दै सभापति पदमा निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी जितनारायण खवासले १०४ मत ल्याएका थिए । सुन्दरहरैंचा नगरपालिकामा भक्तिप्रसाद सिटौला १६९ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका छन् भने लेटाङ नगरपालिकाको नगर सभापतिमा ६० मत प्राप्त गरी दीपकचन्द्र राई अध्यक्ष बनेका छन् ।

यसैगरी ग्रामथान गाउँपालिकाको सभापतिमा ९३ मतका साथ तुलसी विश्वास निर्वाचित भए । बूढीगंगा गाउँपालिकाका जितनारायण थापा ७६ मत प्राप्त गरी अध्यक्ष बनेका छन् ।

मोरङको जहदा गाउँपालिका, केराबारी गाउँपालिका, उर्लाबारी नगरपालिका र रतुवामाई नगरपालिकामा सहमतिका आधारमा सर्वसम्मत नेतृत्व चयन भएको थियो । जहदा गाउँपालिकामा महेन्द्र मण्डल सभापतिमा पदमा निर्विरोध निर्वाचित भए । मण्डल संस्थापन पक्षका हुन् । यस्तै उर्लाबारी नगरपालिका सुरेन्द्र लिम्बु र केराबारी गाउँपालिकामा प्रकाश बस्नेत सभापतिमा पदमा निर्विरोध निर्वाचित बनेका छन् । यस्तै रतुवामाई नगरपालिका सभापतिमा पोष्टबहादुर बस्नेत निर्विरोध निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसको राचन्द्र पौडेल–शेखर कोइराला पक्ष सँधै बलियो रहेको मोरङमा दुई कार्यकाल नेतृत्व गरेका नेता अमृतकुमार अर्याल कोइराला समूह छोडेर देउवा समूहमा गएपछि मोरङमा संस्थापन बलियो हुने अनुमान गरिएको थियो । तर, प्राप्त परिणामले अर्याल कमजोर बनेको पुष्टि भएको छ ।

अघिल्लो अधिवेशनमा अर्यालकै सहयोगमा जिल्ला सभापति बनेका डिगबहादुर लिम्बू समूह परिवर्तन गरी कोइराला क्याम्पमा पुगेका छन् । जसले गर्दा कोइराला क्याम्प छोडेर देउवा निकट बनेका अर्याल कमजोर हुँदा सभापति लिम्बुले जिल्लामा आफ्नो शक्ति थप सुदृढ पारेको छ ।
नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बुले जिल्लामा संस्थापन पक्ष अत्यन्तै कमजोर बनेको बताएका छन् । ‘मोरङमा संस्थापनइतर समूह धेरै पालिकामा बिजयी भएको छ, संस्थापन पक्षले दुई पालिकामा मात्र जित हाशिल गरेको छ भने हामीले १५ वटा स्थानीय तहमा जित हाशिल गरेका छौं,’ सभापति लिम्बूले भने ‘संस्थापन इतर पक्षले राम्रो नतिजा प्राप्त ग¥यो भनेर धेरै उत्साहित हुनुपर्ने अवस्था छैन, राजनीतिमा समूह परिवर्तन भइरहने हुनसक्छ आजको हिसाब भोलि फरक पर्छ त्यसैले अर्को पक्षले पनि निराश हुनु हुँदैन ।’

संस्थापन पक्षले भने कानेपोखरी, ग्रामथान, धनपालथान, जहदा लगायत पाँच स्थानीय तहमा जित हासिल गरेको दाबी गर्दै आएको छ ।

सोमबार, १८ असोज, २०७८, बिहानको १०:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर