विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुनसरीमा दुई पक्षको विवाद ‘कि तँ छैनस्, कि म छैन’ भन्ने अवस्थामा पुगेको छ ।
आफू नै संयोजक रहेको दाबी गरिरहेका योगेन्द्र प्रसाद मण्डल (पप्पु) र माओवादी सुनसरीका इन्चार्ज निर्मल बराल पक्षबीचको विवाद उत्कर्षमा छ । बराल पक्षलाई पार्टीको प्रदेश समितिले साथ दिएको छ ।
संयोजक मण्डलले केन्द्रीय सदस्य तथा इन्चार्ज बराल, सहइन्चार्ज शिवकुमार डाँगी, प्रदेश सदस्यहरु नरेन्द्र बस्नेत, भानु मैनाली, आइन्द्रविक्रम बेघा, अनिता परियार, उमिता बराईली, जसकुमार किराँती (प्रवेश) र सुरेन्द्र मेहतासँग कुनै परामर्श नगरी बैठक राखेको र विभिन्न निर्णय गरेपछि विवाद सुरु भएको थियो ।
यस्तै सो पक्षको सहमति नलिइकन बैठक नराख्न माओवादी केन्द्र प्रदेश समितिका अध्यक्ष सुरेशकुमार राई (हिमाल)लगायतले दिएको निर्देशन पनि मण्डलले पालना गरेका थिएनन् । त्यही बैठकपछि विवाद उत्पन्न हुँदा ९ जनाले विज्ञप्ति जारी गर्दै मण्डलको एकलौटी निर्णय सच्याउन माथिल्लो कमिटीसँग माग गरेका थिए ।
त्यसपछि माओवादीको प्रदेश समितिले स्पष्टीकरण माग गर्दै मण्डललाई पत्र काटेको थियो । पत्रको जवाफमा मण्डल आफैंले प्रदेश समितिले आफूलाई स्पष्टीकरण काट्ने हैसियत नहुने भन्दै प्रतिवाद गरेका थिए । मण्डलको प्रतिवादपछि प्रदेश समितिको शनिबार बसेको सचिवालय बैठकले जिल्ला संयोजकबाट हटाउँदै प्रदेश समिति सदस्य सुरेन्द्र मेहतालाई संयोजकको जिम्मेवारी दिएको थियो ।
सो निर्णयप्रति चित्त नबुझेको र मान्य नहुने भन्दै आइतबार मण्डल पक्षले विज्ञप्ति जारी गर्दै पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । ‘नेकपा माओवादी केन्द्र १ नं. प्रदेश समितिका अध्यक्ष (कार्यालय)ले नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक क.योगेन्द्र प्रसाद मण्डल पप्पुलाई बिनाकारण हटाई केही दिन अगाडि मात्र नेकपा एमालेका प्रदेश सदस्यमा मनोनित भएका र केही दिनपछि कुनै पार्टीमा नरहेको भनि विज्ञप्ति जारी गरेका सुरेन्द्र मेहतालाई जिल्ला संयोजक तोकेको जानकारी आउँदा सुनसरीको पार्टी आन्दोलनमा खटिरहेका नेता कार्यकर्ता आश्चर्य चकित भएका छौं,’ तालाबन्दी बारे जानकारी दिँदै संयोजक मण्डल र सचिव सपना परियार सन्ध्याले जारी गरेको पत्रमा उल्लेख छ, ‘उक्त १ नं. प्रदेश अध्यक्षको निर्णयप्रति हाम्रो गम्भीर आपत्ती रहेको छ । सुनसरी पार्टी आन्दोलनमा निरन्तर क्रियाशिल नेता कार्यकर्तालाई पाखा लगाउँदै पार्टी विधि, पद्धती कुल्चदै गुटगत आधारमा जिम्मेवारी दिँदै सुनसरीको पार्टीलाई ध्वस्त गर्ने प्रदेश अध्यक्षको निर्णय तत्काल फिर्ता लिन माग गर्दछौं ।’ उक्त निर्णय फिर्ता नभएसम्मका लागि पार्टी कार्यालयमा तालाबन्दी गरिएको पत्रमा उल्लेख छ । विवाद समाधानका लागि प्रदेश समितिले कस्तो कदम चाल्छ भन्ने विषयमा भने नेताहरुले केही बताउन चाहेनन् ।