विराटनगर काङ्ग्रेस सभापतिमा दिपक चापागाईं विजयी

विराटनगर । नेपाली काँग्रेसका हेभीवेट नेताहरुको गृहनगर विराटनगर महानगरमा दिपक चापागाईंले सभापति पदमा बाजी मारेका छन् ।

आइतबार बिहान सबेरै सार्वजनिक विराटनगर महानगरसमितिको अन्तिम मतपरिणाम अनुसार चापागाईं २१२ मतसहित विजयी बनेका छन् । उनका निकटतम प्रतिस्पर्धी सन्तोष न्यौपानेले १६५ मत प्राप्त गरे ।

विजेता चापागाईं केन्द्रीय सदस्य डाक्टर शेखर कोइराला पक्षका हुन् भने पराजित न्यौपाने पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् । सभापति पदकै अन्य दुई मध्ये कृष्ण कार्कीले १३३ र अरुण न्यौपानेले १२७ मत प्राप्त गरेका थिए । उनीहरू दुबै जना कोइराला पक्षकै हुन् ।

महानगर सभापतिका लागि कोइराला समूहका तीन जना आकांक्षी चुनावी प्रतिष्पर्धामा गएका थिए । एकै समूहका तीन जना सभापतिमा भिड्ने भएपछि पार्टी सभापति देउवा समूहले एकल उम्मेद्वारी दिएको थियो ।

संस्थापन इतर समूहका तीन जना प्रतिष्पर्धामा उत्रँदा त्यसको फाइदा आफूलाई हुने अनुमान देउवा पक्षको थियो । तर, देउवा समुहको अनुमान विराटनगरमा फेल खाएको छ । यो चुनाव बाट काँग्रेसका प्रभावशाली नेताहरु डा। शेखर कोइराला, महेश आचार्य, डा। मिनेन्द्र रिजाल, सुजाता कोइराला, अमृत अर्याल लगायतको गृहनगरमा कोइराला र आचार्य समूहको दबदबा फेरि कायम भएको हो ।

यसैगरी , महानगर समितिको उपसभापतिमा निरोज कोइराला र इन्दु सुवेदी निर्वाचित भएका छन । सचिवमा झुमा निरौला र तेजिन्द्र भट्टराई, सहसचिवमा सचिन पोखरेल र दिवस नेपाल विजयी बनेका छन् ।

आइतबार, १७ असोज, २०७८, बिहानको ११:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर