विराटनगर । नेपाली काङ्ग्रेस मोरङका ७ वटा पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । शनिबार मतदान भएका रतुवामाई नगरपालिकाबाहेक १६ स्थानीय तहमध्ये ७ वटाको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा पार्टी सभापति शेरबहादुर देउवा पक्षधर कमजोर देखिएका छन् ।
काङ्ग्रेस मोरङ सचिव मोदराज घिमिरेका अनुसार कानेपोखरी, धनपालथान, कटहरी र मिक्लाजुङ गाउँपालिका तथा बेलबारी, सुनबर्सी र पथरी शनिश्चरे नगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।
नेपाली कांग्रेस बेलबारी नगर सभापतिमा छत्र लिम्बू विजयी भएका छन् । शम्भु भट्टराईलाई पराजित गर्दै उनी बिजयी भएका हुन् । लिम्बुले १ सय ३६ मत प्राप्त गरे । भट्टराईले ९४ मत प्राप्त गरेका थिए ।
कानेपोखरी गाउँपालिका सभापतिमा योगेन्द्र दाहाल निर्वाचित भएका छन् । दाहालले ७३ मत प्राप्त गरेका छन् । सभापतिका उम्मेद्वार दीपक चौलागाईले ७१ मत प्राप्त गरे ।
कटहरी गाउँपालिका सभापतिमा रामकुमार कामत बिजयी भएका छन् । उनले ८४ मत प्राप्त गरे । उनका निकटम प्रतिस्पर्धी हरिनारायण माझीले ४४ मत र अर्का प्रतिस्पर्धी शम्भु साहले चार मत प्राप्त गरे ।
उता मिक्लाजुङ गाउँपालिकामा बबी राई सभापतिमा निर्वाचित भएका छन् । राईले १३४ मत प्राप्त गरेका थिए । सभापतिका उम्मेद्वार अरुणविक्रम बस्नेतले २१ मत प्राप्त गरे ।
धनपालथानमा सभापतिमा दीपकवीर पाण्डे बिजयी भएका छन् । पाण्डेले ८३ मत प्राप्त गरे । सभापतिका उम्मेद्वार बासुदेव रायले ३७ मत प्राप्त गरेको नेपाली काङ्ग्रेस मोरङका सचिव घिमिरेले बताए ।
सुनबर्सी नगरपालिका सभापतिमा कमलकिशोर सिंह निर्वाचित भएका छन् । उनले १०५ मत प्राप्त गरे । सभापतिका उम्मेद्वार महेश्वर राजवंशीले ८९, बैजनाथ झाले ८ म प्राप्त गरेको जिल्ला सचिव घिमिरेले बताए ।
यस्तै पथरीशनिश्चरे नगर सभापतिमा रुपनारायण भट्टराई बिजयी बनेका छन् । उनले ८२ मत प्राप्त गरेका थिए । उपसभापतिमा सन्तोष कार्की र कुलबहादुर गुरुङ, सचिवमा सोमबहादुर कटुवाल र योगराज पाठक, सहसचिवमा खगेन्द्र बस्नेत र सोफिया कटुवाल बिजयी बनेका छन् ।
प्राप्त मतपरिणम अनुसार ७ मध्ये ६ वटा पालिकामा संस्थापनि इतर समूहले सभापति जितेको छ । धनपालथान गाउँपालिकाका सभापति दिवबीर पाण्डे भने देउवा पक्षधर रहेको बताइएको छ । अन्य पालिकाको भने मतगणना जारी छ ।