‘मेरो देश, मेरै उत्पादन अभियान’को लोगो राष्ट्रपतिलाई हस्तान्तरण

विराटनगर । विराटनगरका दुई उद्योग वाणिज्य संघका प्रतिनिधिहरुले ‘मेरो देश, मेरै उत्पादन’ अभियानको निमोनिक लोगो राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरेको छ ।

स्वदेशी वस्तुहरुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर वनाउदै सम्मुनत राष्ट्र निर्माणमा सहयोग पु¥याउने लक्ष्य लिई मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले प्रारम्भ गरेको मेरो देश, मेरै उत्पादनको अभियान अन्तर्गत तयार पारिएको निमोनिक लोगो फ्रेम र प्रतिवद्धता पत्र २०७८ बुधबार राष्ट्रपति भण्डारीलाई हस्तान्तरण गरिएको हो ।

राष्ट्रपतिको कार्यालय शितल निवासमा पुगेर प्रतिनिधि मण्डलले राष्ट्रपतिलाई लोगो हस्तान्तरण गरेको थियो । त्यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रत्येक वर्ष मुलुकको व्यापार घाटा बढिरहेको अवस्थामा अभियानमा अफ्नो पूर्ण समर्थन हुने बताइन् ।

उनले अभियानमा ठूला उद्योगहरुका साथै स–साना स्तरमा संचालनमा रही वस्तु उत्पादन गर्दै राष्ट्रिय अर्थतन्त्रमा सहयोग पु¥याउदै आएका कुटिर, लघु, घरेलु तथा साना एवं महिला उद्यमीहरुको उत्पादनलाई समेत समेटेर अभियानमा समावेश गर्न सुझाव दिइन् ।

स्वदेशी वस्तुहरुको उपभोग बढाउदै देशलाई आत्मानिर्भर बनाउने उदेश्यले संचालन गरिएको अभियान बारे जानकारी दिन र तयार पारिएको लोगो उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल र मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाको नेतृत्वमा गएको संयूक्त प्रतिनिधि मण्डलले हस्तान्तरण गरेको हो ।

त्यस अवसरमा संगठनका निवर्तमान अध्यक्ष भीम घिमिरे, संघका निवर्तमान अध्यक्ष पवन शारडा, संगठनका पूर्व अध्यक्ष किशोर प्रधान, संघका पूर्व अध्यक्ष महेश जाजु, संगठनका वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारका, संघका वरिष्ठ उपाध्यक्ष नविन रिजाल, संगठनका उपाध्यक्ष राजकुमार गोल्छा, नन्दकिशोर राठी, भोलेश्वर दुलाल र संघका उपाध्यक्ष अनुपम राठीको सहभागिता रहेको थियो ।

 

 

बुधबार, १३ असोज, २०७८, साँझको ०७:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर