विराटनगर । मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनीयताको सपथ लिने कदम नै असंवैधानिक भएको दाबी गर्दै आएको प्रदेश १ को विपक्षी गठबन्धनले आज प्रदेश प्रमुखलाई भेट्ने भएको छ ।
आज साढे १ बजे प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई भेट्न जाने तयारी भएको विपक्षी गठबन्धनले जनाएको छ । ‘हामी अहिले साढे एक बजे प्रदेश प्रमुखलाई भेट्न जाँदैछौं,’ प्रदेश १ माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले भने, ‘उहाँले भदौ १० मा भीम आचार्यलाई असंवैधानिक रुपमा सपथ गराउनु भएको कुरा स्मरण गराउँदै अबको बाटोबारे छलफल गर्नेछौं ।’
विपक्षी गठबन्धनले प्रदेश सरकारले असोज ८ भित्रै विश्वासको मत लिनुपर्ने दाबी गर्दै आएको छ । ‘त्यो बेला विश्वासको मत लिने प्रक्रियामा सरकार किन लागेन, यसले संवैधानिक प्रावधानको बर्खिलाप गरेको अर्थ लाग्छ कि लाग्दैन आज हामी प्रदेश प्रमुखलाई सोध्नेछौं,’ आङ्बोले थपे, ‘नियमित संसद् अधिवेशनमा विश्वासको मत लिने योजना सरकारको छ कि छैन ? कि यत्तिकै असंवैधानिक रुपमा सत्ता लम्ब्याउने खेलमा सरकार रहने हो भन्ने पनि हामी सोध्नेछौं ।’
मुख्यमन्त्री आचार्यले भने विश्वासको मत लिने तयारी गरेर असोज २२ मा संसद्को हिउँदे अधिवेशन बोलाएका छन् । हालसम्मको अवस्थामा संसद्को गणित प्रतिकूल भए पनि सरकारले विश्वासको मत लिने र प्राप्त गर्ने दाबी गर्दै आएको छ । ‘विश्वासको मत लिनकै लागि हामीले संसद् आह्वान गरेका हौं,’ उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण तिवारीले भने, ‘संसद्को गणितले सधैं काम गर्दैन । सरकारले विश्वासको मत पाउँछ ।’ मन्त्री तिवारीका अनुसार असोज २२ मा सुरु हुने अधिवेशनमा सरकारले विश्वासको मत लिनेछ । ‘कुन दिन प्रस्ताव टेबल हुन्छ त्यो चाहिँ अहिले भन्न सकिएन,’ उनले भने, ‘तर, सरकारले विश्वासको मत लिनेछ । संसद् सचिवालयसँग सल्लाह गरेर त्यो प्रक्रिया अघि बढ्नेछ ।’