विराटनगर । उच्च अदालत विराटनगरअगाडि दिनदहाडै व्यवसायी कमानसिंह लामामाथि खुकुरी प्रहार गर्न लगाउने मोरङ धनपालथान गाउँपालिका १ का ५३ वर्षीय मो.साजिद मियाँ पनि पक्राउ परेका छन् । प्रहरीले मियाँलाई सोमबार पक्राउ गरेको हो । पक्राउ परेका मियाँ लामाका व्यवसायीक साझेदार हुन् ।
आइतबार दिउँसो लामामाथि विराटनगर ६ घर भइ जनपथटोलमा बस्दै आएका २७ वर्षीय विमल कार्कीले खुकुरी प्रहार गरि घाइते बनाएका थिए । लामालाई खुकुरी प्रहार गर्न कार्कीलाई प्रयोग गरेको प्रहरीको प्रारम्भीक चरणको अनुसन्धानबाट खुलेको छ ।
लामामाथि भएको खुकुरी प्रहार व्यवसायको स्वामित्वसँग जोडिएको खुलेको छ । ३२ वर्षीय लामाका साझेदार महम्मद साजिद मियाँले उजुरी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले उनको उद्योगको कारोबार रोकिदिएको थियो । प्रशासनको निर्णयविरुद्ध लामा जिल्ला अदालत जाने तयारीमा थिए ।
आइतबार बिहान काठमाडौंबाट आएका उनी जिल्ला प्रशासन कार्यालय हुँदै मुद्दा दर्ताका विषयमा सल्लाह गर्न वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको ल फर्ममा पुगेका थिए । त्यहाँबाट निस्किएर आफ्नो गाडीतर्फ जाँदै गर्दा उनीमाथि दुई जनाको समूहले खुकुरी प्रहार गरेको थियो । खुकुरी प्रहार गर्ने कार्की पक्राउ परिसकेका छन् भने अर्का एक जना फरार छन् । फरार भएका व्यक्तिको पनि खोजी कार्य भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका दुवै जनालाई सोमबार मोरङ अदालतमा ज्यान मार्ने उद्योगमा पाँच दिनको म्याद थप गरि अनुसन्धान सुरू गरेको डिएसपी श्रेष्ठले बताए ।
यस्तो छ व्यवसायी साझेदार लामा र मियाँको विवाद
मोरङको कटहरीमा रहेको इँटा उद्योगको शेयर विषयमा साजिद र लामाबीच विवाद थियो । विवादको मुद्दा प्रशासनमा आएपछि जिल्ला प्रशासन कार्यालयले उद्योगको कारोबार तत्कालका लागि रोकेको थियो ।
काभ्रे घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएका लामाले दुई वर्षयता मोरङमा इँटा उद्योग सञ्चालन गर्दै आएका थिए । मोरङको कटहरी गाउँपालिका–६ स्थित उनको जग्गामा मोरङ राजधानी इँटा उद्योग सञ्चालनमा छ । सो उद्योगमा साजिद मिया र उनकी श्रीमतीको नाममा थियो ।
साझेदारीमा सञ्चालनका लागि मियाँले उद्योगको आधा हिस्सा लामालाई दिएका थिए । स्रोतका अनुसार उद्योग सञ्चालनका लागि साजिदले लगानी गरेनन् । लाइसेन्स प्रयोग गरेबापत वार्षिक ५० हजार इँटा लामालाई दिने सहमति भएको थियो । तर पछिल्लो समय साजिदले हिसाबकिताब नदेखाएको भन्दै कटहरी गाउँपालिका हुँदै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका थिए । जिल्ला प्रशासन कार्यालय मोरङले कारोबार तत्कालका लागि रोक्न आदेश दिएको थियो । गत वैशाखयता सुरु भएको विवादमा कारोबार रोकिएपछि लामा अदालती प्रक्रियामा जाने निर्णयमा पुगे । उद्योगको कारोबारको विषलाई लिएर मियाँले व्यवसायीक साझेदारलाई गुण्डागर्दीमा संलग्न व्यक्ति प्रयोगमा लिएर लामामाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।