विद्युत समस्याले किसानलाई सास्ती

भोल्टेज नभएको बेला गाउँकै विजुली काटिन्छ, दूध चिस्यान केन्द्रमा समस्या बढ्यो, कुटानी पिसानी मिल ठप्प भए

विराटनगर । केही दिनयता विजुलीको भोल्टेज कम आउँदा मोरङको कानेपोखरी–५, भौंसाबारीमा रहेको दूध चिस्यान केन्द्रमा चिलिङ भ्याट (चिसे) चल्दैन । मुक्ति कृषि सहकारी संस्था लि. केरौनले सञ्चालन गरेको उक्त चिसेमा दैनिक ५ सय लिटर दूध संकलन हुँदै आएको छ ।

‘भोल्टेज नहुँदा चिसे चल्दैन, दैनिक जेनेरेटर चलाएर दूध चिस्याउँदा घाटा भइरहेको छ,’ सहकारीका कार्यसमिति सदस्य लोकनाथ फुयाल बताउँछन्, ‘कुलमान आएपछि ठिकठाक होला भनेको झन् हविगत भयो ।’ कानेपोखरी २ मै रहेको नवदुर्गा डेरीले दैनिक २ हजार लिटर दूध संकलन गर्छ । तर, उक्त दूध टिकाउन भोल्टेज नहुँदा दिनको ६ देखि ७ घण्टा जेनेरेटर चलाउनु परेको छ ।

‘६/७ घण्टा जेनेरेटर चलाउनु परेको छ, दैनिक खर्च १ हजार १५ सयले बढ्यो,’ डेरीका संचालक राजकुमार खनाल बताउँछन्, ‘भोल्टेज नभएको भन्दै एकएक छिनमा बिजुली काटिन्छ, इलेक्ट्रिकल सामानहरु बिग्रिएर हैरान भइयो ।’ कानेपोखरीका दुग्ध संकलन केन्द्रलाई मात्रै होइन, त्यस क्षेत्रमा अहिले पानी तान्ने मोटर पनि चल्दैन ।

अत्याधिक गर्मी बढीरहेको समयमा सिलिङ फेन पनि चल्दैन । केहीले घरमा राखेका फ्रिज पनि राम्रोसँग चल्दैन, वत्ती पनि पिलिकपिलिक मात्रै गर्छ । काठमिल पनि चलेका छैनन् । कुटानी पिसानी मिल नचल्दा ढिकीमा धान कुट्नुपर्ने अवस्था छ ।

‘बिजुली धेर भएर विक्री गर्न नपाएको समाचार आउँछ, तर हामीले राम्रोसँग बिजुली उपभोग गर्नै पाएका छैनौं,’ फुयालले भने, ‘विजुलीमा पहिलेकै जस्तो अवस्था सिर्जना भएको हो कि जस्तो भएको छ ।’ विद्युत् प्राधिकणले भने लो भोल्टेजको समस्या पुरानो संरचनाको कारण सिर्जना भएको बताउने गरेको छ । सो क्षेत्रमा विद्युत् वितरण गर्दै आएको वितरण केन्द्र रंगेलीलाई लो भोल्टेजबारे जानकारी गराउँदा समस्या आफूहरुको नभइ विद्यूत् प्राधिकरण दुहबी शाखाको भएको बताउने गरेको डेरीका संचालक खनाल बताउँछन् ।

‘हामीले समस्याबारे जानकारी गराएका छौं, विद्युत् प्राधिकरण रंगेलीले समस्या दुहबीमा हो भन्छ,’ खनालले भने, ‘समस्या समाधानमा कसैले चासो दिएको देखिएन ।’ कानेपोखरी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडाध्यक्ष सुशील बुढाथोकीले विद्युत् भोल्टेजको समस्या आएको बताए । ‘समस्या भएको छ, किसान तथा दूध संकलन केन्द्रबाट गुनासो पनि आएको छ, हामीले विद्युत् प्राधिकरणलाई जानकारी दिन्छौं,’ बुढाथोकीले भने ।

सोमबार, ११ असोज, २०७८, साँझको ०६:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर