शिक्षक राजनीतिमा : कांग्रेका क्षेत्रीय प्रतिनिधि बन्ने शिक्षकको जागिर जानसक्छ

विराटनगर । नेपाल सरकारका स्थायी कर्मचारी र शिक्षकहरुलाई कानूनले राजनीतिक दलको कार्यकर्ता बन्न रोक लगाएको भएपनि नेपाली कांग्रेसको जारी अधिवेशनमा धेरै शिक्षक र कर्मचारी राजनीतिमा हामफालेको पाइएको छ ।

कानुनले बन्देज गरेपनि मोरङका १३७ वडाहरुमा सम्पन्न अधिवेशनमा उल्लेख्य संख्यामा शिक्षकहरु निर्वाचनमा सहभागी भएका छन् । पार्टीको वडा समिति र क्षेत्रीय प्रतिनिधिमा कतिपय शिक्षक तथा कर्मचारीहरु उम्मेद्वार बनेका छन् भने कतिपय बिजयी भएका छन् ।

कर्मचारीले कुनैपनि राजनीतिक पदका लागि हुने निर्वाचनमा भाग लिन नहुने र कसैका लागि मत माग्न वा कुनै प्रभाव पार्न नहुने व्यवस्था विद्यमान निजामती सेवा ऐनमा छ । विराटनगर महानगरपालिकाकी स्थायी कर्मचारी कल्पना दाहाल कानूनको त्यो व्यवस्थालाई उल्लंघन गर्दै नेपाली कंग्रेसको वडा अधिवेशनमा उम्मेदवार बनेर क्षेत्रीय प्रतिनिधिमा निर्वाचित बनेकी छन् । उनले विराटनगर ५ बाट क्षेत्रीय प्रतिनिधिको चुनाव जितेकी हुन् ।

स्थानीय तहका कर्मचारीले पनि निजामती सेवा ऐनले व्यवस्था गरेकै आचरण र अनुशासन सम्बन्धी व्यवस्थाहरु पालना गर्नुपर्ने हुन्छ । कर्मचारी भएर राज्यबाट तलब भत्ता लगायत सुविधा बुझ्ने कर्मचारीहरु यसरी खुलेआम राजनीतिक दलको निर्वाचन लगायतका गतिविधिमा संलग्न हुनु कर्मचारीको आचरण प्रतिकुल हुने मोरङ प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले बताए ।

‘निजामती ऐनले कुनै पनि कर्मचारीलाई यसरी दलीय राजनीतिमा प्रत्यक्ष संलग्न हुने र निर्वाचनमै सहभागी हुन रोक लगाएको छ,’ प्रजिअ दाहालले भने ‘ सरकारी कर्मचारी र शिक्षकहरु यसरी राजनीतिक गतिविधिमा संलग्न भएको विषयमा प्रमाणसहित उजुरी भए उनीहरुमाथि कारवाही हुन्छ ।’ राजनीतिक दल सम्बन्धी ऐन २०७२ तेश्रो संशोधन २०७४ ले शिक्षक, प्राध्यापक, कर्मचारीहरु राजनीतिक दलको सदस्य हुन नपाउने भन्दै बन्देज लगाएको छ ।

दलको सदस्य नै बन्न नपाउने कानुनी व्यवस्था विपरित भर्खरै सम्पन्न कांग्रेसको वडा अधिवेशनमा थुप्रै शिक्षकहरुपनि पार्टीको चुनावमा भाग लिएर सक्रिय राजनीतिक गतिविधिमा संलग्न भए । नेपाली कांग्रेस विराटनगर ७ नम्वर वार्डको वडा सचिव पदमा वहालवाला शिक्षक निर्वाचित भएका छन् । शिक्षक ऋषि खतिवडा सम्पन्न वडा अधिवेशनबाट वडा सचिव पदमा निर्वाचित भएका हुन् ।

वडाका निर्वाचनहरु भर्खरै सम्पन्न भएकोले जिल्लाभर कति शिक्षकहरु निर्वाचित भए भन्ने सबै विवरण सार्वजनिक भइसकेको छैन । सामाजिक सञ्जालमार्फत पहिचान भएका केहीको विवरण भने हाम्रोमतलाई प्राप्त भएको छ ।

नेपाली कांग्रेसको सम्पन्न वडाको निर्वाचनमा धेरैजसो शिक्षकहरु क्षेत्रीय प्रतिनिधिको रुपमा उम्मेदवार बनेको र केहीले जितेको पाइएको छ । राजनीतिक दल सम्बन्धी कानुनले शिक्षकहरु राजनीतिक दलको सदस्य बन्न नपाउने स्पष्ट व्यवस्था गरेपनि शिक्षकहरुले भने शिक्षा ऐनको त्यान्द्रो समातेर दलको गतिविधिमा सक्रिय हुने र निर्वाचनमै भाग लिएका हुन् ।

शिक्षा ऐन २०७६ को दफा १६(ङ)मा शिक्षकहरुले राजनीतिक दलको कार्यकारी पदमा बस्न नहुने उल्लेख गरेको छ । ऐनले स्पष्टिकरण खण्डमा केन्द्रीय, प्रदेश वा स्थानीय तहको कुनैपनि समितिको सदस्यलाई कार्यकारी पद भनेर व्याख्या गरेको छ । त्यसैलाई देखाएर कांग्रेसका शिक्षकहरुले कार्यसमिति बाहेक क्षेत्रीय प्रतिनिधि वा महाधिवेशन प्रतिनिधि बन्न कानुनले रोक नलगाएको बताउने गरेका छन् ।

असोज ६ गते सम्पन्न वडा अधिवेशनमा विराटनगर ८ बाट शिक्षक चक्रप्रसाद पोखरेल क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । विराटनगर ३ बाट शिक्षक सुमन अधिकारी, विराटनगर १ बाट निर्मला कोइराला, विराटनगर १ बाटै शिवराज कोइराला क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । शिक्षक सीमा ठाकुरले पनि क्षेत्रीय प्रतिनिधिको चुनाव जितेकी छन् । विराटनगर ११ बाट मात्र ८ जना शिक्षकहरु नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि पदमा निर्वाचित भएको बताइएको छ । यस्तै नगरपालिकाका स्थायी कर्मचारीहरू केसव उपाध्याय, कल्पना दाहाल, र जयनारायण यादवले पनि क्षेत्रीय प्रतिनिधिको चुनाव जितेका छन् ।

आइतबार, १० असोज, २०७८, बिहानको ११:२७ बजे

प्रतिक्रिया

  1. कुनै पनि सरकारी कर्मचारी पदमा नियुक्त भई राजनीतिमा सक्रिय रही कुनै पनि राजनीतिक दलको पदमा निर्वाचित भई राजनितिक गरिएको छ भने त्यस्तो व्यक्ति सरकारी कर्मचारी पदबाट तुरुन्त सरकारले निलम्बन गर्नु पर्छ ।

  2. शिक्षकलाई निजामती कर्मचारी संग कानुनले दाज्न दिएको छैन।
    शिक्षक अलग्गै भएको बताएको छ।
    शिक्षक को कुनै -याङकिङ नै छैन। बिभेद भित्र बाचेको छ शिक्षक।
    जागिर जाने कुरामा कुनै तुक छैन।

प्रतिक्रिया:

सम्बन्धित खवर