लोड हुँदैछ...

मेनु

३८ क्विन्टल सुन तस्करीबारे बहस हुँदै

३८ क्विन्टल सुन तस्करीबारे बहस हुँदै

विराटनगर । जिल्ला अदालत मोरङले आज अपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाको आजबाट अन्तिम बहस सुरु भएको छ ।

मोरङ उर्लाबारीका सनम शाक्य हत्या र साढे ३३ किलो सुन हराएको विषयमा अनुसन्धान गर्ने क्रममा खुलेको ३८ क्विन्टल सुन तस्करी प्रकरणको उक्त मुद्दामा आजबाट अन्तिम बहस हुने भएको हो । उक्त मुद्दाको सुनुवाई न्यायाधीश भरत लम्सालको इजलासबाट अहिले भइरहेको छ ।

उक्त मुद्दामा बेनु श्रेष्ठसमेत ६३ जना, रेवत भन्ने रेवन्तकुमार आचार्यसमेत, सम्बिर प्रेतोलोङ्ग समेत २ जना तथा संजय खेतान भन्ने प्रभात अग्रवाललाई विपक्षी बनाइएको छ । उक्त मुद्दामा सनम शाक्यका दाजु संजिप शाक्यको जाहेरीमा सरकारी वकिल कार्यालय पक्ष रहेको छ ।

सो मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार ५६३ ग्राम (करिब ३८ क्वीन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी गरिएको छ । सुन तस्करी मुद्दाका प्रतिवादीमध्ये २२ जना अझै फरार छन् । प्रहरीले पक्राउ गरेका र अदालतमा आफैं हाजिर भएका ५५ जना मध्ये अधिकांश धरौटीमा छुटेका छन् ।

साढे ३३ किलो सुन गायब भएपछि तस्करको समूहको यातनाका क्रममा २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी–१ मा शाक्यको हत्या गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds