सुनसरी । नेकपा एमाले सुनसरीले मध्यमार्गीका ६ जनालाई विधान महाधिवेशन प्रतिनिधिमा सिफारिस गर्दै आफ्ना पक्षका लागि भने चयन गरेको छ ।
नेकपा (एमाले) जिल्ला कमिटी सुनसरीको आज बसेको सचिवालय बैठकले असोज १५ देखि १७ गते काठमाडौंमा सम्पन्न हुने प्रथम विधान अधिवेशनका निम्ति क्षेत्र नं. १ बाट मुरारी सुवेदी र लहरुमाया जिमि, क्षेत्र नं. २ बाट शंकरलाल चौधरी र कानुन अधिकारी, क्षेत्र नं. ३ बाट भुवन पोखरेल र सोम माया गुरुङ राय, क्षेत्र नं. ४ बाट लस्करी अन्सारी र सरीता खत्री, दलितबाट सिर्जना नेपाली परियारलाई प्रतिनिधिका रुपमा चयन गरिएको छ। चयन गरिएका सबै ओलीपक्षका हुन् ।
यसैगरी रमेश बस्नेत, नन्द बस्नेत, शत्रुधन यादवसहित ६ जनाको थप नामावली सिफारिस गरिएको एमाले सुनसरीका प्रचार विभाग प्रमुख रवि खनालले बताए । सिफारिस गरिएका सबै भीम आचार्यपक्षका रहेको बताइएको छ । एमालेको विधान अधिवेशनमा पार्टी केन्द्रीय समिति सदस्य, प्रदेश समिति सदस्यहरु, जिल्लाका पदाधिकारी, प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेश सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख पदेन सदस्य रहन्छन् ।
यस्तै संघीय निर्वाचन क्षेत्रबाट १ खुल्ला १ महिला र जिल्लाभरीबाट १ जना दलित चयन गर्नुपर्ने व्यवस्था छ । यसबाहेक केन्द्रले १० प्रतिशत मनोनित गर्नेछ । यसरी हेर्दा सुनसरीबाट मध्यमार्गी धारका भीम आचार्य, धर्म निरौला, प्रतिनिधिसभा सदस्य जय राई, प्रदेशसभा सदस्य सावित्री जोशी र पार्टीको प्रदेश समितिबाट ४ जना अन्य सदस्यमात्रै रहने भएका छन् भने निर्वाचन क्षेत्र र जिल्लाले चयन गर्ने कोटामा सबै ओलीपक्षले चयन गरेको छ ।