विराटनगर । बलात्कार आरोपमा जेल परेका अभियुक्तलाई छुटाउन चर्को दबाब आउन थालेपछि पीडित दलित बालिका र उनको परिवार असुरक्षित भएका छन् ।
सुनसरी बराहक्षेत्र ६ की १६ वर्षीया दलित बालिकालाई बलात्कार आरोपमा पुर्पक्षका लागि जेल परेका सोही ठाउँका २९ वर्षीया रामकुमार यादवलाई छुटाउन आफन्तले चर्को दबाब दिन थालेपछि पीडित बालिका र उनको परिवार असुरक्षित बनेको हो ।
पीडित बालिकाको परिवारका अनुसार अभियुक्तका आफन्तले पीडित बालिका र उनको परिवारलाई अदालतमा बकपत्र गर्दा आफूलाई कसैले बलात्कार नगरेको भन्दै बयान फेरेर ‘होस्टाइल’ हुन धाकधम्की र विभिन्न प्रलोभन दिँदै चर्को दबाब दिइरहेका छन् । अभियुक्त्त पक्षले कतै प्रत्यक्ष भेटेर त कहिले मोवाइलमार्फत बकपत्रमा बयान नफेरे जे पनि हुनसक्छ भन्दै धाकधम्की दिने गरेका छन् ।
अभियुक्त पक्षबाट निरन्तर आइरहेको धाकधम्कीले गर्दा पीडित बालिका र उनको परिवार असुरक्षित बनेको अधिकारकर्मी नविन रम्तेलले बताए । अधिकारकर्मी रम्तेलका अनुसार गत भदौमा बलात्कारमा परेकी पीडित बालिकालाई सुरक्षित स्थानमा राखिएको थियो । तर त्यहाँ अभियुक्त्त पक्षले मोवाइलमार्फत लोभप्रलोभन देखाउने र धाकधम्की दिने प्रयास गरे ।
निरन्तरको दबाबले असुरक्षित भएपछि हाल बालिका विभिन्न स्थानमा रहेका आफन्तहरुकोमा शरण लिएर बस्दै आएकी छिन् । अझै पनि अभियुक्त्त पक्षले आफन्तको ठेगाना पत्ता लगाएर धाकधम्की दिन नछाडेको स्रोतको दाबी छ ।
निरन्तरको धाकधम्कीले गर्दा पीडितले न्याय नपाउने अवस्था भएकोले उनलाई सुरक्षित पुर्नस्थापना केन्द्रमा राख्नुपर्ने अवस्था सिर्जना भएको अधिकारकर्मी रम्तेलले बताए । ‘कसैले गोप्य रुपले पीडित बालिकालाई पुनःस्थापना केन्द्रमा संरक्षण दिए न्याय मर्ने थिएन,’ उनले भने ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।