विराटनगरको चाइना मार्केटमा तस्करीको कपडा

विराटनगर । विराटनगर १६ भारत र नेपालको सीमा क्षेत्रमा रहेको ‘चाइना मार्केट’ हँुदै तस्करीको कपडा पूर्वको विभिन्न सहरमा जाने गरेको पाइएको छ ।

विराटनगरसहित पूर्वको विभिन्न सहरका कपडा व्यापारीहरूको पसलमा ‘क्यारिङ’ गर्नेले चाइना मार्केट हँुदै तस्करीको कपडा भित्र्याउने गरेको पाइएको हो । व्यापारीले निश्चित रकम क्यारिङ गर्नेलाई दिएपछि उनीहरूले भरिया प्रयोग गरेर तस्करीको कपडा विराटनगरसहित पूर्वको दुहबी, इटहरी, धरान, बेलबारी, पथरी, उर्लाबारीसम्मका व्यापारीको गोदाममा कपडा पु¥याउने गरेका छन् ।

अहिले क्यारिङ गर्नेले तस्करीको मुख्य नाका विराटनगरको दक्षिण गेट, दरैया र चाइना मार्केट बनाएका छन् । चाइना मार्केटमा रहेका पसलहरू भारत र नेपालको सीमा जोडिएको क्षेत्रमा रहेका छन् । गिरोहले प्रयोग गरेको भरियाले तस्करीको सामान सीमावर्ती बजार जोगवनी हँुदै सीमा क्षेत्रका पसलमा मध्यरातको समयमा कटाउने गरेका छन् ।

यसरी तस्करीको कपडा विराटनगर १६ मा रहेको चाइनिज बजारमा ल्याएको १० बोरा कपडा इलका प्रहरी कार्यालय रानी विराटनगरले सोमबार राती बरामद गरेको हो । प्रहरीले बरामद गरेको कपडा ३ लाख १० हजार मूल्य बराबरको कपडा रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । बरामद भएको कपडा क्यारिङ गर्दै तस्करी धन्दा चलाउने सौरभ चौरिसयाको रहेको प्रहरीले जनाएको छ ।

सौरभले विराटनगरको दक्षिण गेट हुदै चाइनिज मार्केटमा कपडा ल्याएपछि पूर्वी सहरमा पठाउने गरेको बुझिएको छ । उनले व्यापारीसँग प्रति पिसको हिसाबले कपडा जोगवनीदेखि गन्तब्यसम्म पु¥याउने जिम्मा लिएका हुन्छन् । प्रहरीले बरामद गरेको कपडा भन्सार कार्यालय विराटनगरमा मंगलबार बुझाएको छ ।

मङ्गलबार, ०५ असोज, २०७८, रातीको ०८:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर