लोड हुँदैछ...

मेनु

अमेरिका जाने सपना देखाएर विवाह गर्ने पक्राउ

अमेरिका जाने सपना देखाएर विवाह गर्ने पक्राउ

विराटनगर । इलामकी प्रमिला (नाम परिवर्तन)र रौतामाई गाँउपालिका ७ मार्कुचेका २४ वर्षीया सुदिप कार्की (परियार)को समाजिक सञ्जाल फेसबुकमार्फत चिनजान भयो । त्यही चिनजानलाई उनीहरुले म्यासेन्जर च्याटमा सक्रिय बनाउँदै सम्बन्धलाई निरन्तरता दिए । सामान्य हाई हेल्लोबाट सुरु भएको उनीहरुको कुराकानी मायाप्रेममा परिणत भयो ।

केहीसमयको अन्तरालपछि च्याटमा सीमित उनीहरुको संवाद फोनमा समेत हुन थाल्यो । दैनिक जस्तो फोनमा हुने लामो कुराकानीले प्रेमको यात्रामा दौडिएका प्रमिला र सुदिपको सम्बन्ध प्रगाढ बन्दै गयो । प्रविधिको माध्यमबाट जोडिएको प्रेम सम्बन्धलाई उनीहरुले विवाह बन्धनमा बाँधिने निधो गरे ।

संवादको क्रममा सुदिपले आफू अमेरिका जान लागेको प्रमिलालाई सुनाएका थिए । सुदिपको अमेरिका उडानको तयारी र प्रमिलाको नर्सिङ क्षेत्रको पढाईमा स्वार्णिम सपना सजाएर सुदिपले प्रमिलालाई विवाहको प्रस्ताव राखे ।

त्यसो त पछिल्लो समय विदेश मोहका कारण अत्याधिक मात्रामा देश छोडेर जानेहरूको संख्या बढ्दै गएको पाइन्छ । धेरै जस्तो युुवाहरू अमेरिका, अस्ट्रेलिया, युरोपलगायतका देशमा आफ्नो भविष्य र सपना देख्ने गरेका हुन्छ । विदेशी भूमिमा सपना देख्नेमध्येका सुदिप र प्रमिलाको प्रेम सम्बन्ध र विवाहको योजना परिवारसम्म पुग्यो ।

परिवारको सल्लाह अनुसार असोज ३ गते प्रमिलाको अभिभावकले विधिपूर्वक टिकाटालो गरेर सुदिपलाई जीवनभरका लागि सुम्पेको छोरीको वैवाहिक यात्रा असोज ४ गते जिल्ला प्रहरी कार्यालय उदयपुर पुगेर ब्रेक लाग्यो ।

…जातसम्म ढाँटियो

अमेरिकामा स्वर्णिम सपना देखाएर विवाह गरेका प्रमिलालाई सुदिपले अमेरिका जाने भनेर मात्रै ढाँटेनन् । प्रमिलाको कुरा सुन्दा सबैभन्दा ठूलो झुट उनले आफैमाथि गरे । त्यो हो, फरक जात । उनी दलित समूदायका व्यक्ति हुन् । लेख्दा कार्कीसँग परियार पनि लेख्थे । नागरिकतामा भने ‘कार्की ढोली’ लेखिएको छ ।

उनलाई आफु दलितभित्रको कार्की ढोली भएपनि कार्की थर मात्रै बताउने गरेका थिए । तत्कालै अमेरिका जान लागेको भन्दै प्रमिलालाई ललाईफकाई विवाह गरेको आरोप लागाउँदै प्रमिला र उनको परिवार जिल्ला प्रहरी कार्यालय उदयपुरमा उजुरी दर्ता गराउन पुगेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमका अनुसार केटी र केटीका आफन्तहरुले केटा कार्की नभएर दलितभित्रको कार्कीढोली भएको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरमा उजुरी दिएका थिए ।

सुदीपले अमेरिकाको भिसासमेत नक्कली बनाएर केटीलाई देखाएर झुक्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ । हाल केटीलाई अभिभावकको जिम्मा लगाइएको डिएसपी गौतमले बताए । उनका अनुसार आरोपित सुदीपलाई भने सोमबार अभद्र ऐन अन्तरगतको मुद्दा चलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।