विराटनगर । प्लाइउड उद्योगीहरुले काठको न्यून बिजकीकरणको समस्या समाधान गर्न माग गरेका छन् । न्यून बिजकीकरणका कारण ब्यापारीहरुले मार खेप्नु परेको तथा लेखा राख्न समेत समस्या भइरहेको सम्बद्ध उद्योगीहरुले बताएका छन् ।
काठको चलनचल्तीको बजार मुल्य बढी रहेपनि सरकारले निर्धारण गरेको दररेट त्योभन्दा कम रहेकाले समस्या सृजना भएको उनिहरुको भनाइ छ । मोरङको सुन्दरहरैंचामा आयोजना गरिएको पूर्वाञ्चल प्लाई उड संघको चौथो साधारण सभा तथा दोश्रो महाधिवेशन कार्यक्रममा बोल्दै संघका नवनिर्वाचित अध्यक्ष सीताराम अग्रवालले न्यून बिजकीकरणको समस्या समाधान गर्न सरकारका सम्बन्धित निकायहरुसंग आफुहरुले समन्वय गरिरहेको बताए । संघका संस्थापक अध्यक्ष देवानन्द सरावगीले प्लाइउड उद्योगलाई प्रोत्साहितगर्न राज्यले बिशेष ध्यान दिनुपर्ने माग गरे ।
उनले पछिल्लो समय नेपाल प्लाई उडको उत्पादनमा पूर्णरुपमा आत्मनिर्भर रहेको बताउनुभयो । सरावगीले नेपालमा वर्षेनी झण्डै १५ सय करोड रुपैया बराबरको प्लाई उत्पादन हुने गरेको बताउनुहुँदै यो उद्योगमा ५० हजार जनाले रोजगारी पाएको समेत बताए । नेपाली उद्योगहरुले वर्षेनी सवा करोड सिएफटी नरम खालको काठ खपत गर्ने गरेको उल्लेख गर्दै उनले प्लाई उद्योगलाई दीर्घकालिनरुपमा संचालन गर्न बृक्षारोपणलाई समेत सँगसँगै बिस्तार गर्दै लैजानुपर्नेमा जोड दिए ।
प्रदेश एकका कार्यवाहक अध्यक्ष रमेश आचार्यले आयात हुने प्लाईमा ट्याक्स बढाएर भएपनि नेपाली उद्योगलाई प्रर्वद्धन गर्नुपर्ने माग गरे । यसैबीच सोहि कार्यक्रमकाबीच संघको नयाँ कार्यसमिति समेत चयन भएको छ । संघको दोश्रो महाधिवेशनबाट सीताराम अग्रवालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत भएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा बिष्णु माधोगढिया, महासचिवमा दुर्गा भण्डारी,सचिव टंकनाथ गौतम र कोषाध्यक्षमा दिवाकर राठी चयन हुनुभएको छ ।
यसैगरि भूमिका भण्डारी, जय लाल रौनियार, निकेश राठी र खेम पोखरेल सदस्यकोरुपमा निर्वाचित भएका छन् । नव निर्वाचित पदाधिकारीको कार्यकाल २ वर्षको हुने जनाइएको छ । मोरङ, सुनसरी र झापामा ३० वटा प्लाई उद्योगहरु छन् । जसमध्ये झापामा १७ र मोरङ–सुनसरीमा १३ वटा उद्योगहरु रहेको जनाइएको छ ।