अनेरास्ववियु (क्रान्तिकारी) मोरङको जिल्ला सम्मेलन

माओवादीकै कारण वंशवादको अन्त्य : पञ्चा सिंह

निजी विद्यालयमा हुने पार्टीका नेताहरुको लगानीले विद्यार्थी संगठनसमेत दूषित बन्दै गएको टिप्पणी

विराटनगर । अनेरास्ववियु (क्रान्तिकारी)की केन्द्रीय उपाध्यक्ष पञ्चा सिंहले माओवादी आन्दोलनले नै मुलुकमा गणतन्त्र स्थापना भएको बताएकी छिन् ।

अनेरास्ववियु (क्रान्तिकारी) मोरङको सोमबार भएको १५ औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले माओवादी नेतृत्वले गर्दा नै मुलुकमा वंशवादमा आधारित राजतन्त्रको अन्त्य भएको र माओवादी कै कारण समावेशी र समानुपातिक नीति स्थापित गरेको दाबी गरिन् ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोपी अछामीले शिक्षामा भईरहेको निजीकरणको अन्त्य तथा प्रविधिमा आधारित गुणस्तरीय शिक्षाको व्यवस्थाका लागि पार्टी केन्द्रित भइरहेको बताए । उनले यसका लागि तयार पारिएको आवश्यक कार्ययोजना बमोजिम पार्टी अघि बढिरहेको बताए ।

नेकपा माओवादी मोरङका संयोजक गणेश उप्रेतीले निजी विद्यालयमा हुने पार्टीका नेताहरुको लगानीले विद्यार्थी संगठनसमेत दूषित बन्दै गएको टिप्पणी गरे । अखिल क्रान्तिकारीको शैक्षिक अभियानको नेतृत्व गरिरहेका विद्यार्थी नेताले नै शिक्षालाई निजीकरण गर्ने विषयमा सहयोगी बन्नु दुर्भाग्यको विषय रहेको उनको तर्क थियो ।

कार्यक्रममा नेकपा माओवादी मोरङका सह–ईन्चार्ज तथा प्रदेशसभा सदस्य कुलप्रसाद साम्बा, जिल्ला सचिवालय सदस्य ईश्वरी आचार्य, जिल्लाको विद्यार्थी विभाग प्रमुख सुमन कालीकोटे र महानगर सचिव नमिता न्यौपानेसहित ताजिम अन्सारी, दिपेन्द्र मेहता, धर्मेन्द्र ऋषिदेव र अमर मण्डललगायतका विद्यार्थी नेताहरुको सहभागी थिए । सम्मेलनले अखिल क्रान्तिकारी मोरङको नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

सोमबार, ०४ असोज, २०७८, साँझको ०७:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर