फुच्चे मियासहित १२८ जना पक्राउ

विराटनगर । अदालतले कैद सजाय र जरिवना तोकिएपछि फरार भएका अभियुक्तहरूलाई मोरङ प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । प्रहरीले अहिले दैनिकजसो फरार अभियुक्त पक्राउ गर्दै आएको छ ।

शुक्रबार मात्रै मोरङ प्रहरीले एकै दिन विभिन्न मुद्दमा कैद सजाय र जरिमाना तोकिएको अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले एकै दिन ११ जना फरार अभियुक्तहरूलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । मोरङ जिल्ला अदालतदेखि २०७० पुस १४ गते फैसलाले सवारी ज्यान मुद्दा र २०७३ असार १२ गतेको कुटपिट लुटपाट मुद्दामा कैद तथा जरिवाना ठहर भएका प्रतिवादीहरूलाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए ।

यसरी पक्राउ पर्ने कुटपिट र लुटपाट मुद्दाका मोरङ सुनवर्षी नगरपालिका ६ का ५३ वर्षीय रमेश भुजेल, सोही मुद्दाका २३ वर्षीय सुरज भुजेल, कुटपिट मुद्दामा ५८ वर्षीय उसमान मिया, २८ वर्षीय रमजान मिया, ४८ वर्षीय अन्जु खातुन, ४८ वर्षीय उवारन खातुन रहेका छन् । यस्तै सोही मुद्दाका ३० वर्षीय अव्वास मिया, २७ वर्षीय फुच्चे मिया, ३१ वर्षीय कैलु मिया र ३५ वर्षीय साहजवि खातुन रहेको मोरङ प्रहरीले जनाएको छ ।

यसअघि पनि प्रहरीले खुन डाँका मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय तोकिएको अभियुक्तलाई मोरङ प्रहरीले ३६ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले कटहरी गाउँपालिका ७ का ८७ वर्षीय विश्वास चौधरी थारु ३६ वर्षपछि खुनडाँका मुद्दामा पक्राउ परेको डिएसपी श्रेष्ठले बताए । ०४२ सालमा थारु विरूद्ध थारु जिल्ला अदालत मोरङमा खुनडाँका मुद्दा परेको थियो । त्यतिबेला उनी ५१ वर्षका थिए । २०६१ जेठ १८ गते जिल्ला अदालतले चौधरीलाई सर्वस्वसहित जन्मकैदको सजाय तोक्यो । जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन हुँदै मुद्दा सर्वोच्चसम्म पुग्यो । २०६४ साउन १० गते सर्वोच्चले जिल्लाकै फैसलालाई सदर ग¥यो । अर्थात चौधरीले सर्वस्वसहित जन्मकैदको सजाय बेहोर्नुपर्ने भयो ।

सर्वोच्चको अन्तिम फैसलापछि पनि चौधरी १८ वर्ष घरमै बसे । त्यतिबेला प्रहरीले उनलाई फरार सूचीमा राख्यो । ३६ वर्षअघिको मुद्दामा बल्ल भदौ ९ गते पक्राउ परेको थिए । ८७ वर्षको गलेको शरीर लिएर चौधरी अहिले जेलमा पुगेका छन् ।

विराटनगर महानगरपालिका ३ का ८५ वर्षीय धर्मध्वज थापाको घरमा २०४२ साल भदौ १८ गते राति डकैती गर्न एउटा समूह पसेको थियो । धर्मध्वजकी श्रीमती जीवनदेवीको हत्या गर्दै धनमाल लुटेर डाँका समूह गयो । धर्मध्वजले चौधरीसहित १४ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । प्रहरीले घटनामा संलग्न १४ जनाविरुद्ध खुनडाँका मुद्दा चलायो । अदालतले सबैलाई दोषी ठहर गर्दै घटना भएको १९ वर्षपछि (२०६१ सालमा) कैद सजाय र जरिवानाको फैसला सुनायो ।

अदालतको फैसलापछि प्रहरीले उक्त घटनामा संलग्न ६ जना पक्राउ गरेको थियो । हरिप्रसाद सरदार बातर, जोखन सरदार बातर, ठकुरु भनिने ठक्कुलाल सरदार बातर, रामनारायण खवास, अर्जिलाल खवास र निमालाल खवास पक्राउ परेका थिए ।

प्रहरीले चालु आर्थिक वर्षको दुई महिनामा १ सय २८ जना फरार अभियुक्त पक्राउ गरेको डिएसपी श्रेष्ठले जानकारी दिए । साउन र भदौ महिनामा अदालतले कैद र जरिवना तोकिएको अभियुक्तलाई प्रहरीले पक्राउ गरि अदालतमा उपस्थित गराएको उनले बताए । पक्राउ परेका प्रतिवादीबाट १ सय ५४ वर्ष १६ दिन कैद सजाय भुक्तान गरेका छन् भने ३५ लाख ८८ हजार १ सय १४ रूपैयाँ जारिवना असुल गरिएको प्रहरीले जनाएको छ ।

भरुवा बन्दुकसहित एक पक्राउ

मोरङको मिक्लाजुङदेखि भारूवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मिक्लाजुङ गाउँपालिका–५ का ४३ वर्षीय जगतबहादुर लिम्बू भरूवा बन्दुकसहित पक्राउ गरेको हो ।

पक्राउ परेका लिम्बूले आफ्नै घरमा २ नाल भरुवा बन्दुक लुकाई छिपाई राखेको अवस्थामा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले हतियारसहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

लिम्बूले हतियार लिएर जंगलमा सिकारी खेल्न जाने गरेको बुझिएको छ । हतियार कहाँबाट ल्याए यस विषयमा पनि थप अनुसन्धान सुरु गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए । पक्राउ परेका लिम्बूलाई हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

शनिबार, ०२ असोज, २०७८, दिउँसोको ०४:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर