विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरको एउटा कपडा गोदाममा छापा हानेर अवैध कपडा बरामद गरेको छ ।
विराटनगर–११ मा भण्डारण गरिएको कपडा गोदामा बिहीबार छापा हानेर ठूला परिमाणमा कपडा बरामद गरेको हो । प्रहरीले गोदाममा छापा हानेर ३७ बोरा अवैध कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
प्रहरीले बरामद गरेको कपडा ६ लाख ७८ हजार ३ सय ३० रुपैयाँ मूल्य बराबरको रहेको डिएपी श्रेष्ठले जानकारी दिए । प्रहरीले विराटनगर–११ मा रहेको रामचन्द्र साहको घरमा बनाएको गोदामदेखि २६ बोरा र सुरज कुमार केसीको घरमा रहेको गोदामदेखि ११ बोरा कपडा बरामद गरेको हो ।
बरामद गरेको कपडा अञ्जली साहको रहेको प्रहरीले जनाएको छ । साह कपडाको क्यारिङ गर्ने महिला रहेको बुझिएको छ । उनले व्यापारीले मगाएको कपडा भन्सार छली गरेर अवैध रूपमा विराटनगरमा ल्याउने र व्यापारीले भनेको ठाउँमा पु¥याउन भरिया प्रयोग गर्दै आएकी थिइन् । प्रहरीले बरामद गरेको कपडा तस्करी गरेर ल्याएर बुझिएको छ । कपडाको तस्करी धन्दा चलाउने गिरोहले अहिले विराटनगरको दरैया र रिङरोडको बाटो प्रयोग गर्दै भारतदेखि कपडा विराटनगर भित्र्याउने गरेका छन् ।
क्यारिङ गर्ने तस्करले भरिया प्रयोग गरेर अहिले दरैया हँुदै रिङरोडको बाटो भएर विराटनगरमा तस्करीको कपडा आउने गरेको स्रोतले बताएको छ । ‘व्यापारीले सीमावर्ती बजार जोगवनीमा गएर कपडा खरिद गर्दछन् । त्यसपछि उनीहरूले निश्चित रकम दिएर क्यारिङ गर्नेहरूलाई कपडा विराटनगरदेखि पूर्वीको विभिन्न सहरसम्म पु¥याउने जिम्मा दिने गर्दछन्,’ स्रोतले भन्यो, ‘क्यारिङ गर्नेले सेटिङ मिलाएर तस्करीको कपडा व्यापारीले भनेको गन्तव्यसम्म पु¥याउने गरेका छन् ।’
यसरी भन्सार छली गर्न पाउँदा कपडा व्यापारीले पिसको हिसाबले क्यारिङ गर्नेलाई कपडा ल्याउने जिम्मा दिने गर्दछन् । व्यापारीले भारतको जोगवनीदेखि विराटनगरसम्म कपडा ल्याउने जिम्मा दिँदा उनीहरूलाई प्रतिगोटाको हिसाबले पैसा बुझाउने गरेका छन् ।