विराटनगर । अमेरिकी सहयोग परियोजना मिलिनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमार नेपाल आउने भएपछि विभिन्न अड्कलबाजी सुरु भएको छ ।
एमसीसी उपाध्यक्ष सुमार एक हप्तापछि नेपाल आउने बताइएको छ । उनी नेपाल आउनुअघि नै सत्ता गठबन्धनमा हलचल मच्चिएको छ । नेपालमा एमसीसी परियोजनाको स्थिति बुझ्न उनी नेपाल आउन लागेकी हुन् ।
देउवा प्रधानमन्त्री नियुक्त भएलगत्तै फातिमा नेपाल आउने तय भएको थियो । नेपालमा रहँदा उनले दलहरुबाट एमसीसीबारेको धारणा बुझ्ने र कट्टर राय राख्नेहरुलाई त्यसबारे बुझाउने बताइएको छ ।
यसअघि पनि तत्कालीन सत्तारुढ दल नेकपामा एमसीसीबारे चर्को विवाद भएका बेला त्यसका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नेपाल आएका थिए। त्यो बेला उनले सत्ता गठबन्धनका नेताहरुलाई भेटेर एमसीसीबारे स्पष्ट पार्ने प्रयास गरेका थिए।
तर, तत्कालीन नेकपाको अध्ययन कार्यदलले एमसीसी सम्झौतामा रहेका केही अस्पष्टता हटाएरमात्रै यो परियोजना पारित गर्नुपर्ने सुझाव दिएको थियो।
प्रधानमन्त्री देउवाले यसमा विपक्षी नेता केपी ओलीको साथ समेत खोज्न थालेको देखिएको छ। पछिल्लो समय देउवाले अमेरिकाको चाहनामा गठबन्धनका नेताहरुलाई दबाब दिएको बुझाइ माओवादी केन्द्रसहित गठबन्धनका अरू नेताहरुको भनाइ छ। एमसीसीकै कारण सत्ता गठबन्धनमा दरार नआओस् भनेर सरकारको न्यूनतम साझा कार्यक्रममा समेत यो विषय समेटिएको थिएन। गठबन्धनलाई आगामी चुनावसम्म लैजाने र चुनावपछि आउने सरकारले एमसीसीबारे निर्णय गर्ने सहमति जुटेको थियो ।
संसदबाट एमसीसी अनुमोदन गराउने विषयमै छलफल गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका थिए। ओलीले संसदमा विधेयक पारित गर्न पुग्ने संख्या गठबन्धनसितै भएको जवाफ दिएका थिए। ओलीलाई भेट्न जानुअघि कार्कीले एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग पनि भेटेका थिए।