विराटनगर । कोरोनाको तेस्रो लहर सुरु हुने चेतावनी विज्ञहरुले दिइरहेकै बेला प्रदेश १ सँग जोडिएका अधिकांश सीमा नाका चाहिँ धमाधम खुकुलो पारिएको छ ।
दुई साता अघिदेखि विराटनगर नाका खुला गरिएको प्रदेश १ मा अब काँकडभिट्टा नाका पनि खुला भएको छ । कोरोना महामारी नियन्त्रणमा आइनसकेको भारतीय भूमिबाट केही कागजातसहित नेपाल आउन खुला गरिएको हो । प्रदेश १ सँग भारतका बिहार र पश्चिम बंगाल राज्यको सीमा जोडिएका छन् ।
जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर भारतीय भूमिबाट आउन दिन मिल्ने भए पनि अझै पनि पर्याप्त सतर्कता आवश्यक भएको विज्ञहरुले बताउँदै आएका छन् । ‘जोखिम कायमै छ,’ जनस्वास्थ्य विज्ञ डा. अनुप शिवाकोटीले भने ‘त्यसैले सामान्य अवस्थामा जस्तो पूरै खुला गर्ने वा वेवास्ता गर्ने काम अझै पनि खतरायुक्त नै छ । त्यसैले स्वास्थ्य सतर्कता अपनाउन छाड्न मिल्दैन ।’
विज्ञहरुले यसो भने पनि नाकाहरुमा हुने लापरबाही जारी छ । औपचारिक नाका हुँदै आउनेहरुले भन्दा पनि तस्करी धन्दा चलाउने गिरोह, वारपार व्यवसायमा संलग्न साना व्यापारीहरुले चोरबाटो प्रयोग गर्छन् । जसले जनस्वास्थ्य सुरक्षाका कुनै उपाय अवलम्बन गर्दैनन् । यसअघि विराटनगर नाका खुला हुँदाताका प्रदेश १ सरकारका मन्त्रीहरु, संघीय सरकारका उच्च पदस्थ अधिकारीहरुले ‘अन्य नाकाबाट आउने क्रम नरोकिएका कारण मुख्य नाका खुला गर्नुपरेको’ बताएका थिए । जबकि प्रदेश १ मा कोरोना संक्रमण दर अहिले पनि उल्लेख्य रुपमा घट्न सकेको छैन । सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार अहिले पनि दैनिक सरदर ५ सय हाराहारीमा संक्रमित फेला पर्ने क्रम जारी छ ।
यसरी जोखिम कायमै रहेका बेला चार महिनापछि पूर्वी नाका काँकडभिट्टामा भारतीय नागरिकको आवतजावत खुकुलो बनाइएको हो । सोमबारदेखि भारतीय नागरिकलाई खोप कार्ड वा पीसीआर नेगेटिभ रिपोर्टका आधारमा नेपाल प्रवेश गर्न अनुमति दिइएको थियो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आवश्यकता र औचित्यका आधारमा कोरोना विरुद्धको खोप लगाएको कार्ड र पीसीआर नेगेटिभ रिपोर्ट भएका भारतीय नागरिकलाई नेपाल आउन दिइएको बताए ।
‘केन्द्रबाट लिखित अनुमति आउन बाँकी छ’, प्रजिअ तिम्सिनाले भने । यसअघि काँकडभिट्टा नाकामा भारतीयलगायत विदेशी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको थियो । सीमावर्ती क्षेत्रका आँखा अस्पतालमा उपचारका लागि मात्र भारतीयलाई आउन दिइएको थियो । लामो समय नाका बन्द हुँदा व्यापार व्यवसायमा गम्भीर असर परेको भन्दै केही दिनदेखि मेची उद्योग वाणिज्य संघ र होटल व्यवसायी संघले नाका खुलाउन माग गर्दै आएको थियो ।
विराटनगरमा पनि उद्योगी व्यवसायीको दबाबकै कारण नाका खुला गरिएको थियो । व्यवसायीले आइतबार सत्तारुढ नेपाली कांग्रेस पार्टीका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्मा र मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई भेटेर नाका खुलाउन पहल गरिदिन भन्दै ज्ञापन पत्र बुझाएका थिए ।
काँकडभिट्टा नाका प्रयोग गरेर भारत जाने नेपालीलाई भने पीसीआर नेगेटिभ रिपोर्ट र कोरोना विरुद्धको खोप कार्डका आधारमा पहिल्यैदेखि अनुमति दिँदै आएको थियो । भारतको पश्चिम बंगालको सिलिगुढीमा उपचारका लागि र बागडुग्रा विमानस्थल जानका लागि नेपालीले सहज अनुमति पाउँदै आएका थिए ।
झापाको काँकडभिट्टाबाहेक अरु नाकाबाट भने औपचारिक आवतजावतमा अझै रोक लगाइएको छ । भद्रपुर, गौरीगञ्ज, कुञ्जिबारी, टाघनडुब्बा र केचना नाका बन्द अवस्थामा रहेको छ । तर, यी नाकाहरुकै पनि वैकल्पिक बाटोबाट आउने क्रम भने अझै रोकिएको छैन ।
विश्व स्वास्थ्य संगठनसहितका जनस्वास्थ्यसम्बद्ध संस्थाहरुले नेपाल तेस्रो लहरको उच्च जोखिममा रहेको र त्यसले बालबालिकालाई धेरै असर गर्ने प्रक्षेपण गर्दै आएका छन् ।