विराटनगर । नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) प्रदेश नम्बर १ ले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको रकम दुरुपयोग भएको भन्दै मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको ध्यानाकर्षण गराएको छ ।
जिफन्टका प्रदेश १ अध्यक्ष किशोर धमलासहितको टोलीले आज सामाजिक सुरक्षा कार्यान्वयन सम्बन्धमा ध्यानाकर्षण गराएको हो । जिफन्टले उद्योग संगठन र मोरङ व्यापार संघमा आवद्ध सबै उद्योग प्रतिष्ठानले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकरण गरी नियमित रुपमा योगदान रकम दाखिला गर्न गराउन पत्राचार गर्न माग समेत गरेको छ ।
‘सामाजिक सुरक्षा ऐन अनुसार हरेक महिना श्रमिकको पारिश्रमिक कट्टा गर्ने तर सामाजिक सुरक्षा कोषमा श्रमिकलाई सूचीकृत नगरी श्रमिकको रकम रोजगारदाता आफैंले भोगचलन गर्नु अुनचित काम हो,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘त्यसैले हामी आग्रह गर्दछौं यस संस्थामा आवद्ध सबै उद्योग, प्रतिष्ठान तथा संघ संस्थाहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकरण गरी नियमित रुपमा योगदान रकम दाखिला गर्न गराउन यहाँबाट पत्राचार गरियोस् ।’
जिफन्टले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ एवम् श्रम ऐन २०७४ त्रिपक्षीय सहमतिमै जारी गरेको स्मरण गराउँदै ऐन कार्यान्वयनमा पनि तदारुकता देखाउन आग्रह गरेको छ । ‘हामीले त्रिपक्षीय सहमतिबाट योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ एवम् श्रम ऐन २०७४ जारी गरेको कुरा बिर्सनु हुँदैन,’ पत्रमा भनिएको छ, ‘तसर्थ प्रचलित ऐन कानून अनुसार सञ्चालनमा रहेका सबै उद्योग, प्रतिष्ठान, कम्पनी, संघसंस्था, फर्म एवम् त्यहाँ कार्यरत श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्ध गर्न गराउन तथा श्रम कानूनको अनिवार्य कार्यान्वयन गर्न जिफन्टको तर्फबाट ध्यानाकर्षण पत्र पेश गरेका छौं ।’
सो ध्यानाकर्षण पत्र मंगलबार उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेल तथा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडालाई हस्तान्तरण गरिएको जिफन्ट प्रदेश १ का अध्यक्ष धमलाले जानकारी दिए ।