विराटनगरमा मोटसाइकल चोरी बढेपछि प्रहरीको ‘एम्बुस’ ! पहिलो दिनमै दुई पक्राउ

आर्थिक वर्ष २०७७/०७८ मा मोरङमा १ सय ४० वटा मोटरसाइकल चोरी भए

विराटनगर । विराटनगरमा एक दिनैमा आधा दर्जन बढी मोटसाइकल चोरी हुन थालेपछि चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गर्न मोरङ प्रहरीले ‘एम्बुस’ अभियान सुरू गरेको छ ।

चोरी हुने सम्भावित ठाउँमा एम्बुस थाप्ने र मोटसाइकल चोरीमा संलग्नलाई पक्राउ गर्न यो अभियान सुरू गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

एम्बुस अभियानको प्रारम्भीक चरणमा प्रहरीले मोटसाइकल चोरीमा संलग्न दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । विराटनगर ११ र १२ मा एकैदिन ६ वटा मोटसाइकल चोरी भएपछि प्रहरीले शुक्रबार एम्बुस थापेको हो । बखरी प्रहरी चौकीका असइ भुवन श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले शुक्रबार विराटनगर–११ सुम्निमा बोर्डिङ स्कुलअगाडि एम्बुस थापेर मोटरसाइल चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी घर भएका बालक १५ र १६ वर्ष उमेर समूहका रहेको प्रवक्ता डिएसपी श्रेष्ठले जानकारी दिए । प्रहरीले उनीहरूको साथदेखि मोटसाइकल चोरी हुँदा प्रयोग गर्ने ‘मास्टर’ चाबी पनि बरामद गरेको छ । ‘चोरीमा संलग्नले मास्टर चावी प्रयोग गरेको भेटिएको छ,’ उनले भने, ‘पक्राउ परेका नाबालक भएपनि उनीहरू पेशेवर रहेको प्रारम्भीक चरणको अनुसन्धानदेखि खुल्न आएको छ ।’ नाबालकलाई चोरीमा प्रयोग गरी विराटनगर क्षेत्रभित्र चोरीमा संलग्न गिरोहको सञ्जाल ठूलो हुनसक्ने भएकोले प्रहरीले त्यसतर्फ पनि अनुसन्धान अगाडि बढाएको उनले बताए ।

घर अगाडि, सार्वजनिकस्थलमा राखिएको अवस्थामा पनि बाइक हराउने गरेको छ । ‘कतिपय केसमा त मोटरसाइकल धनी आफैंले चाबी बाइकमै छोडेर हिँडेको पनि भेटिएको छ’, डिएसपी श्रेष्ठले भने, ‘सवारीधनी स्वयमको लापरबाहीले पनि मोटरसाइकल हराउने गरेको छ ।’ अधिकांश पीडित व्यक्तिहरूसँग कुरा गर्दा अधिकांश साँझ र राति चोरी भएका छन् । दिउँसो चोरी गर्ने मनासाय बोकेर मान्छे वस्तुस्थिति बुझ्न आउँछन् । घरको स्थिति बुझ्छन् । मोटरसाइकल कहाँ राखेको छ हेर्छन् र, रातिको समयमा मौका छोपेर चोरी गर्ने गर्छन् । त्यस्तै, घरमै राखेको गल्लीबाट समेत मोटरसाइकल गायब हुने गरेको छ । प्रहरीका अनुसार चोरहरूले अधिकांश स्थानमा दुईजना भएर मोटरसाइकल चोरेको पाइएको छ ।

मोटरसाइकल चोरी बढ्दै

विराटनगर–११ पिचरा चौकमा इलेक्ट्रिक पसल संचालक गर्दै आएका पुष्प न्यौपानेको १० भदौमा साँझतिर मोटसाइकल हरायो । उनले पसलनजिक रहेको घरअगाडि को १० प ९२१७ नं. हिरोहोण्डा कम्पनीको सुपर स्प्लेन्डर पार्किङ्ग गरेर राखेका थिए । ‘पसलमा काम भएकोले घरअगाडि रहेको सडक छेउमा पार्किङ गरेर पसलमा व्यस्त थिए । पसलमा काम सकेपछि घरजान लाग्दा पार्किङ्ग गरिएको मोटसाइकल छैन,’ उनले भने । बिहीबार साढे ६ देखि ८ बजेको बीचमा मोटसाइकल चोरी भएको हुनसक्ने उनको अनुमान छ । ‘मोटसाइकल चोरी भएको भोलीपल्ट शुक्रबार तुरुन्तै वडा प्रहरी कार्यालय हुँदै मोरङ प्रहरीमा पुगेर चोरी भएको निवेदन दिएको छु,’ उनले भने, ‘अहिलेसम्म चोरी भएको मोटरसाइकल भेटिएको छैन ।’

घर अगाडि रहेको सीसी क्यामेराको फुटेजमा पनि साढे ६ देखि ८ बजेको बिचमा मोटसाइकल घरदेखि पश्चिम लगेको लगेको देखिन्छ । तर, धेरै अँध्यारो भएकाले मान्छेलाई स्पष्ट देखिँदैन । त्यहाँ देखिएअनुसार मोटरसाइकल पश्चिम सुनसरी तिर लगेको देखिन्छ । न्यौपानेको मोटसाइकल चोरी भएकै दिन विराटनगर ११ र १२ वडा भित्रबाट मात्र ६ वटा मोटसाइकल चोरी भएको थियो ।

उल्लेखित घटना प्रतिनिधिमुलक हुन् । पछिल्लो समय प्रदेश १ को राजधानी विराटनगरमा मोटरसाइकल चोरीको घटना बढीरहेका छन् । प्रहरीसमक्ष थुप्रै उजुरी आउने गरेका छन् । अहिले दैनिक जसो मोटसाइकल चोरीको केस प्रहरी समक्ष आउने गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

आर्थिक वर्ष २०७७/०७८ मा मोरङमा १ सय ४० वटा मोटरसाइकल चोरीको उजुरी परेको थियो । उजुरीको आधारमा प्रहरीले ५८ जनालाई चोरीमा संलग्न प्रतिवादीलाई पक्राउ गरि २७ वटा मुद्दा मोरङ अदालतमा दर्ता गरेको प्रहरीको अभिलेखमा देखिन्छ । यस्तै चालु आर्थिक वर्षको साउनसम्ममा २३ वटा मोटसाइकल चोरी भएको उजुरी मोरङ प्रहरीमा दर्ता भएका छन् । त्यसमध्ये ३ जनालाई पक्राउ गरि प्रहरीले तीन वटा चोरीमा मुद्दा दर्ता गरेको छ । प्रहरीमा उजुरी आउने मध्ये सबैभन्दा बढी विराटनगर क्षेत्रदेखि मोटरसाइलक चोरी भएको आउने गरेको मोरङ प्रहरीले जनाएको छ ।

सङ्गठित गिरोह संलग्न

मोटरसाइकल चोरीमा सङ्गठित गिरोह नै संलग्न हुने गरेको पछिल्ला घटनाक्रमले देखाउने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् । एम्बुस थापेर चोरीमा संलग्न गरेको नाबालक बालक पक्राउ परेको घटनाले मोटसाइकल चोरीमा ठूलो संगठित गिरोह नै संलग्न हुनसक्ने अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए । ‘चोरीमा संलग्न बालक प्रयोग गरेर मोटसाइकल चोरीमा संगठित गिरोहको समूह हुनसक्ने भएकोले त्यसतर्फ पनि अनुसन्धानको दायरा बढाएका छौं,’ एक प्रहरी अधिकृतले भने ।

चोरीको मोटसाइकल सिधै भारत र पहाडी जिल्लामा

मोटसाइकल चोरी कार्यमा बढी सक्रिय र पेशेवर हुने गरेको प्रहरीको भनाइ छ । विराटनगर क्षेत्रदेखि चोरी भएको मोटसाइकल चोरीमा संलग्न गिरोहले खुल्ला सीमाको फाइदा उठाउँदै भारत पु¥याउने गरेको सुरक्षा स्रोतले जानकारी दिएको छ । त्यही भएर पनि प्रहरीमा उजुरी परेको आधाभन्दा बढी मोटरसाइकल नभेटिने गरेको प्रहरीले जनाएको छ ।

विराटनगरदेखि चोरी भएको मोटरसाइकल भारतमा पु¥याएपछि ग्यारेजमा बिक्री गर्दछन् । उनीहरुले ३० देखि ४५ हजार रुपैयाँसम्ममा चोरीको मोटरसाइकल बिक्री गर्ने गरेको बताइन्छ । नेपालमा हुने मोटरसाइकल चोरीमा भारतीय व्यक्तिको संलग्नता रहने गरेको पछिल्ला केही घटनाहरूले देखाउँछ । मोरङदेखि चोरीभएपछि मोटसाइकल पहाडी जिल्लातिर पनि भेटिएको प्रहरीले जनाएको छ । तराइको जिल्लादेखि चोरी भएको मोटसाइकलको नम्बर प्लेट परिवर्तन गरि पहाडी जिल्लामा कुदाउने गरेको पाइएको छ ।

यदि मोटरसाइकल चोरी भइहाले तत्काल प्रहरीलाई जानकारी दिन डिएसपी श्रेष्ठले सर्वसाधारणलाई अनुरोध गरे । ‘कतिपयलाई चोरी भएको समयसम्म पनि थाहा हुँदैन’, उनी भन्छन्, ‘जति चाँडो हामीलाई इन्फर्मेसन दिनुभयो त्यति चाँडो खोज्न सकिन्छ ।’ उनले मोटरसाइकल राख्दा सँधै ह्याण्डिल लक गर्न एवम् डिस्क लकको प्रयोग गर्न सुझाव दिएका छन् ।

सोमबार, १४ भदौ, २०७८, साँझको ०५:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर