विराटनगर आयल निगमबाट फेरि ट्याङ्करसहित डिजेल चोर्ने प्रयास

विराटनगर । अमलेखगञ्जबाट धनुषातर्फ डिजेल ल्याउँदै गरेको ट्याङ्कर चोरी भएको घटना सेलाउन नपाउँदै विराटनगरमा डिजेलसहितको ट्याङ्कर चोरीको प्रयास भएको छ ।

राती विराटनगर–४ स्थित नेपाल आयल निगमको उत्तरतर्फ रहेको पार्किङ स्थलबाट डिजेलसहितको ना ४ ख ४६९ नम्बरको ट्यांकर चोरी भएको थियो ।

झण्डै २० लाख मूल्य बराबरको डिजेल चोरी गर्ने उद्देश्यले ट्याङ्कर नै गायब बनाउने प्रयास भएको हो । तर, प्रहरीले सूचना पाएलगत्तै उक्त कार्यमा संलग्नलाई पक्राउ गरेको छ भने ट्यांकर नियन्त्रणमा लिएको छ ।

आइतबार राति करिब साढे १ बजे नेपाल आयल निगम विराटनगर डिपोको पार्किङ लटमा राखिएको ट्यांकर चोरी भएको हो । चोरीको आरोपमा प्रहरीले विराटनगर–४ का २६ वर्षीय श्रवणकुमार यादवलाई पक्राउ गरेको हो ।

ट्यांकर लिएर भाग्दै गर्दा बूढीगंगा–३ बाँसबारीबाट ट्यांकरसहित यादवलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ट्याङ्करका चालक यामकुमार खनाल सुत्न र सहचालक शिव खनाल शौचालय गएको मौकामा यादवले चाबी खुला नै रहेको ट्यांकर चोरी गरेको प्रहरीले जनाएको छ । अमलेखगञ्ज डिपोबाट २० हजार लिटर डिजेल लिएर सो ट्यांकर राति साढे १२ बजेतिर विराटनगर आइपुगेको थियो ।

प्रहरीको प्रारम्भीक अनुसन्धानमा चोरीमा यादवसहित चार/पाँच जनाको संलग्नता देखिएको हुनसक्ने प्रहरीले जनाएको छ । अन्यको खोजी जारी छ । यादव निगमका पूर्व चालक हुन् । उनले केही महिना अघि जागिर छाडेका थिए ।

सोमबार, १४ भदौ, २०७८, दिउँसोको ०४:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर