विराटनगर । सामान्यतया नयाँ इँटा उत्पादन गर्ने बेलामा खाली गरिने इँटाभट्टाको ‘डक’ बर्खा नसकिँदै उद्योगहरूले खाली गर्न थालेका छन् । यसबाट इँटा उद्योगको संरचना भत्किएर हुने नोक्सानीको जोखिम बढेको छ । बजारमा इँटाको अभाव भएकोले व्यवसायीहरूले जोखिम लिएरै बर्खा नसकिँदै डकहरू खाली गरेका हुन् ।
इँटा उद्योगले अन्तिम लटमा पकाउन चिम्नीमा हालेको इँटा अर्को सिजनको सुरुवातमा मात्र खाली गर्ने गरेका थिए । तर यसपटक बजारमा इँटाको अभाव भई उपभोक्ताको माग थेग्न नसकेर व्यवसायीहरूले धमाधम डक खाली गरिरहेका छन् । उद्योगहरूले चिम्नी र इँटा पोल्ने टनेलहरूको सुरक्षाका लागि अन्तिम राउण्डको उत्पादन डकमै छोड्ने गर्दथे । डक खाली गर्दा बर्खामा टनेल र वालहरू भत्किएर ठूलो नोक्सानी हुने भएकोले हिउँद लागेपछि मात्र खाली गर्ने गरिएको नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले जानकारी दिए । तर, यसपटक भने सिजनमा उत्पादन हुन नसक्दा मध्यबर्खामै डकहरू खाली गर्न बाध्य भएको उनले बताएका छन् ।
यसबाट सुनसरी र मोरङका उपभोक्ताहरूको झण्डै दुई महिनाको माग धानिने अनुमान व्यवसायीहरूले गरेका छन् । ‘डक’ खाली गर्दा झण्डै चार करोड थान इँटा निस्किने अनुमान व्यवसायीहरूले गरेका छन् । एउटा डकमा करिव १० लाख थान इँटा हुन्छ । अध्यक्ष घिमिरेका अनुसार अब करिव २० प्रतिशत डकहरू मात्र खुल्न बाँकी रहेको र असोजपछि बजारमा इँटा पाउने सम्भावना न्यून छ । मंसिर दोश्रोसाताबाट भने नयाँ उत्पादन सुरु हुन्छ ।
अघिल्लो वर्ष कोरोना महामारीका कारण नेपाल–भारत सीमा बन्द हुँदा भारतबाट इँटा बनाउने मजदुरहरू नेपाल आउन पाएनन् । त्यस कारणले गर्दा मोरङ र सुनसरीका उद्योगहरूले ९० प्रतिशत उत्पादन कटौती गरे ।
सामान्य अवस्थामा सुनसरी र मोरङमा सञ्चालित ५५ वटा इँटा उद्योगहरूले वार्षिक २५ करोड थान इँटा उत्पादन गर्दै आएका थिए । गतवर्ष ति उद्योगहरूले १० प्रतिशत मात्र उत्पादन गरेको इँटा उद्योग व्यवसायी संघ कोशीका पूर्व अध्यक्ष महेन्द्र साहले जानकारी दिए । असहज अवस्थाका कारण धेरै उद्योगहरूले इँटा उत्पादन गरेनन् केही उद्योगहरूले सीमित संख्यामा उत्पादन गरेको उनको भनाइ छ ।
उत्पादन घटेका कारण गत फागुन–चैत्र महिनादेखिनै बजारमा इँटाको अभाव देखापरेको थियो । मागको तुलनामा इँटाको आपूर्ति नहुँदा यसै अवधिमा मूल्य पनि बढेको छ । प्रतिगोटा १८ रुपैयाँमा पाइने इँटाको अहिलेको बजार मूल्य २३ रुपैयाँसम्म पुगेको छ । अहिले बजारमा न्यूनतम २१ रुपैयाँदेखि अधिकतम २३ रुपैयाँसम्ममा इँटा बिक्री भइरहेको पूर्व अध्यक्ष साहले जानकारी दिए । ‘हामीले २१ रुपैयाँमा बेच्दैछौं तर बजारमा २३ रुपैयाँसम्म कारोबार भइरहेको छ’, साहले भने ‘माग र आपूर्तिको असन्तुलनका कारण बजारमा मूल्य बढेको हो, अहिले माग अनुसार आपूर्ति गर्नसक्ने अवस्था छैन ।’ आगामी सिजनमा अवस्था सामान्य भएको खण्डमा श्रमिकहरू आउन तयार रहेकोले उत्पादन बढ्ने र मूल्य पनि घट्ने व्यवसायी साहले बताए । सामान्य अवस्था भए इँटाको मूल्य बढीमा २० रुपैयाँ कायम हुने उनी बताउँन् । तर, जारी कोइलाको मूल्य वृद्धि नियन्त्रण नभए मूल्य बढ्ने सम्भावना हुने उनको भनाइ छ । नेपालका उद्योगहरूले अहिले अमेरिकाबाट कोइला आयात गर्दै आएका छन् । पानी जहाजको भाडा अन्तराष्ट्रिय रुपमा वृद्धि भएको र डलरको मूल्यसमेत बढेका कारण इँटाको उत्पादन लागत बढ्ने सम्भावनालाई उनी नकार्नदैनन् । त्यस्तो अवस्था रहेमा उत्पादन बढेपनि इँटाको मूल्य नघट्ने उनको भनाइ छ ।
इँटा उत्पादन कम भएको समयमा गत वर्ष सरकारी पूर्वाधार निर्माणको काम पनि न्यून भएको थियो । जसले बजारमा सोचेजति अभावको अवस्था भने नभएको व्यवसायीहरूले बताएका छन् । सार्वजनिक निर्माण र निजी आवास निर्माणको काम पनि विगतको तुलनामा घटेको थियो । तरपनि बजारमा माग अनुसार इँटा भने उत्पादकहरूले आपूर्ति गर्न सकेका थिएनन् । उपभोक्ताहरूले सिराह र सप्तरीबाट सानो साइजको इँटा ल्याएर काम चलाएका थिए । यस क्षेत्रका उपभोक्ताहरूले सामान्य अवस्थामा सप्तरी र सिराहमा उत्पादन भएको इँटालाई रुचाउँदैनन् ।
यस पटक भने भारतबाट श्रमिक ल्याउन समस्या नहुने अनुमान व्यवसायीहरूले गरेका छन् । नेपाल उद्योग परिसंघले दक्ष श्रमिक ल्याउने कार्यमा सहजीकरण गरिदिन प्रदेश र संघीय सरकारसमक्ष पहल गरेको थियो । परिसंघकै पहलमा संघीय सरकारले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन र स्थानीय पालिकाको स्वीकृतिमा श्रमिक ल्याउन सकिने व्यवस्था भएको अध्यक्ष घिमिरेले जानकारी दिए । सरकारले सहजीकरण गरिदिएका कारण यस पटक समयमै मजदुर ल्याउन सकिने भएकोले उत्पादन ६० प्रतिशतसम्म गर्न सकिने उनको भनाइ छ ।