विराटनगर । स्वास्थ्य मापदण्ड अपनाएर विद्यार्थीहरुको भौतिक उपस्थितिमै शैक्षिक संस्थाहरु सञ्चालन गर्न अभिभावक लगायत सरोकारवाला पक्षले विराटनगर महानगरपालिकालाई सुझाव दिएको छ ।
आइतबार विराटनगर महानगरपालिकाले सरोकारवाला पक्षहरुसँग परामर्शका लागि आयोजना गरेको छलफलमा उनीहरुले शिक्षालयहरु सञ्चालन गर्नुपर्ने सुझाव दिएका हुन् ।
कार्यक्रममा सहभागी भएका विद्यालय सञ्चालकहरु, अभिभावक संघका प्रतिनिधि तथा प्रध्यानाध्यापकहरुले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्नु उपयुक्त हुने सुझाव दिए ।
कोभिड कारण शैक्षिक क्षेत्र प्रभावित भएको र वैकल्पिक रुपमा सञ्चालन भइरहेको अनलाइन कक्षाले बालबालिकामा थुप्रै नकारात्मक असर गरिरहेको भन्दै भौतिक रुपमै अध्यापनको वातावरण बनाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका हुन् । लामो समय मोवाइल, ल्यापटपको स्क्रिनमा बस्दा बालबालिकाको आखा र मस्तिष्कमा समेत दीर्घकालीन असर पर्ने तर्फ ध्यान दिनुपर्ने उनीहरुले बताए ।
महानगरपालिकाले छलफलमा उठेका विषयहरुलाई सम्बोधन गर्ने गरी निश्चित मापदण्ड र विधिहरु तयार पार्न शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत कृष्ण भट्टराईको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ । समितिले विद्यालय सञ्चालन गर्न अवलम्बन गर्नुपर्ने व्यवस्थापन ढाँचा तयार पार्ने छ ।
समितिमा शिक्षक महासंघका बेदु खतिवडा, हिसानका तर्फबाट भेषराज पोखरेल, एनप्याप्सन र प्याव्सनका तर्फबाट इन्द्र राई, अभिभावक संघ नेपालबाट देवी पन्थी, सामुदायिक विद्यालयव्यवस्थापन समितिका कृष्ण गौतम सदस्य छन् ।
कोरोना महामारीका कारण चैत यता शैक्षिक क्षेत्र पूर्णरुपमा बन्द रहेको छ ।