विराटनगर । भारतदेखि अवैध रूपमा मध्यराती तस्करी भएर आएको कपडा नियन्त्रण लिन खोज्दा तस्करले प्रहरीमाथि हातपात गरेको छ ।
कपडा तस्करी गर्ने तस्करको गिरोह विराटनगर १३ का ३२ वर्षीय नरेश यादवले ड्युटीमा खटिएका प्रहरीमाथि हातहात गरेका हुन् ।
तस्करी गरेर ल्याएको ९ पोका कपडा प्रहरीले छोड्न नमान्दा तस्कर यादवले ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले तस्करीमा संलग्न यादव र को २ ह ६२२६ नम्बरको अटोमा तस्करी गरि ल्याउँदै गरेको ९ पोको कपडा पनि प्रहरीले बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । बरामद भएको एक पोका ३० देखि ४० पिस कपडा हुने गर्दछ ।
शनिबार राती तस्करीको कपडा आएको सूचना पाएपछि विराटनगर–१२ स्थित बखरी प्रहरी चौकीका असइ भुवन श्रेष्ठको नेतृत्वको टोली नेपाल र भारतको सीमा क्षेत्र दरैयाबस्तीमा पुगेको थियो । विराटनगर १२ दरैयास्थित को २ ह ६२२६ नम्बरको अटोमा तस्करीको कपडा थियो । सादा पोशाकका प्रहरी टोलीले सुरूमा तस्करीको कपडा दरैयाबस्तीमा नियन्त्रणमा लिएको थियो । त्यसपछि तस्करीको स्कर्टिङ गर्दै को १९ प ६३२३ नम्बरको मोटसाइकमा अगाडि बढेका थिए ।
प्रहरीले कपडा नियन्त्रणमा लिएपछि यादव घटनास्थलमा आएका थिए । सादा पोशाकमा प्रहरी रहेकोले सामान छोड्न भन्दै उनले प्रहरीलाई हातपात गरेका थिए । त्यसपछि वडा प्रहरी कार्यालय विराटनगरका डिएपी दिपक कार्की, बखरी प्रहरी र मोरङ प्रहरीबाट गएको थप प्रहरी टोलीलाई यादवलाई र तस्करीको कपडा नियन्त्रणमा लिएर आएको प्रहरीले जनाएको छ । तस्करको समूहले हातपात गरेको कारणले बखरी प्रहरीका जवान करण मण्डल सामान्य घाइते भएका छन् । उनको खुट्टामा चोटपटक लगेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका यादवले यसअघि पनि प्रतिबन्धित औषधी तस्करी गरि भण्डारण गरिएको अवस्थामा बरामद गर्दा ड्युटीमा खटिएका प्रहरीलाई धम्की दिएका थिए । भारतदेखि तस्करी गरेर ल्याएको औषधी मोरङ प्रहरीले छापा हानेर बरामद गरेको छ । गत मंसिर ९ गते यादवले तस्करी गरेर ल्याइएको औषधि विराटनगर–१३ स्थित घरमा भण्डारण गरी राखिएको अवस्थामा मोरङ प्रहरीले बरामद गरेको थियो । औषधी बरामद गरेपछि यादवले त्यसबेला जतुवाका सिआरभीका असइलाई फोन गरेर अपशब्द प्रयोग गर्दै धम्की दिएका थिए । त्यसबेला असइले धम्की दिने यादवलाई आवश्यक कारवाहीको लागि मोरङ प्रहरीमा निवेदन समेत दिएका थिए ।
पक्राउ परेका यादव र तस्करीको कपडा, अटो र मोटसाइक प्रहरीले विराटनगर भन्सार कार्यालय बुझाएको डिएसपी श्रेष्ठले जानकारी दिए । यादवलाई भन्सार बुझाएपछि मोरङ प्रहरीले ड्युटीमा खटिएको प्रहरीमाथि हातपात गरेकोले थप कारवाहीको प्रक्रिया पनि अगाडि बढाउने तयारी गरेको छ ।
vau namiler news banyo natra rat ma 5patak 4wata auto ma saman aauxa police le nai liyer aauxa surakxya diyer