क्लासिक टेकलाई क्षमा माग्दै प्रतिबन्ध हटाउन पत्रकार महासंघ मोरङको आग्रह

विराटनगर । आफ्ना विरुद्धमा समाचार आएको भन्दै आफ्नो नेटवर्कमा अनलाइन पोर्टल ब्लक गर्ने क्लासिक टेकको कदम सच्याएर क्षमा माग्न नेपाल पत्रकार महासंघ मोरङले आग्रह गरेको छ ।

पत्रकार महासंघ मोरङका सचिव नेत्र पि अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै अनलाइनमा प्रकाशित समाचारबारे चित्त नबुझे कानुनी उपचार खोज्न पाउने अधिकार भएपनि सञ्चारमाध्यमलाई नै ‘ब्लक’ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि हनन् भएकाले तत्काल क्षमा माग्दै प्रतिवन्ध हटाउन ध्यानाकर्षण गराएका हुन् ।

‘समाचार प्रकाशनको विषयलाई लिएर इन्टरनेट प्रदायक निजी कम्पनिले सञ्चारमाध्यमलाई नै प्रतिबन्ध लगाउने कार्य नेपालको संविधानविपरीत कार्य भएको हाम्रो ठहर छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अनलाइनमा प्रकाशित समाचारबारे चित्त नबुझे कानुनी उपचार खोज्न पाउने अधिकार भएपनि सञ्चारमाध्यमलाई नै ‘ब्लक’ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि हनन् भएकाले क्लासिक टेकलाई तत्काल क्षमा माग्दै प्रतिबन्ध हटाउन ध्यानाकर्षण गराउँदछौं ।’ आफूहरुको कुरालाई बेवास्ता गरे पत्रकार महासंघले अरु कदम चाल्ने चेतावनी पनि दिएको छ ।

विराटनगर ट्राफिक चौकस्थित सेवा केन्द्रमा सेवाग्राहीले तालाबन्दी गरेकोको समाचार शुक्रबार विराटनगरको आवर विराटनगर डटकमले प्रकाशित गरेको थियो । गुणस्तरीय सेवा प्रवाह नगरेको भन्दै सेवाग्राहीले क्लासिक टेकको कार्यालयमा तालाबन्दी गरेका थिए ।

आवर विराटनगरको पेज ब्लक गरेपछि क्लासिक टेक प्रयोगकर्ताले त्यो पेजमा गएर समाचार सामाग्री हेर्न नमिल्ने बनाएको कार्कीले बताए । सेवाग्राही अमित गुप्ताले चारदिन अगाडिदेखि सेवा अवरुद्ध भएको भन्दै गुनासो गरेपनि सुधार नगरेपछि शुक्रबार साँझ तालाबन्दी गरेका थिए ।

यस विषयमा नेपाल पत्रकार महासंघ प्रदेश १ का महासचिव विवेक गौतमले सञ्चारमाध्याम बन्द गराउने कुरा प्रेस स्वतन्त्रता विरोधी भएको बताए । नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरेले प्रकाशित समाचारप्रति चित्त नबुझे कानुनी बाटो अपनाउन सक्ने भएपनि सञ्चारमाध्यमलाई नै ब्लक गर्नु कानुन सम्मत नहुने बताए । ओबी मिडिया प्रा.लि.भने क्लासिक टेकले संविधानको मर्म र कानुनविपरीत काम गरेको भन्दै त्यसविरुद्ध कानुनी कारवाहीमा जाने बताएको छ ।

शनिबार, १२ भदौ, २०७८, साँझको ०७:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर