विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज दुई जना मन्त्री नियुक्त गरेका छन् । मन्त्रिपरिषद विस्तारको लागि विहानैदेखि आन्तरिक छलफलमा जुटेका उनले विगतमा माधवकुमार नेपाल समूहमै रहेर एमालेमा रहने निर्णय गरेका दुई जनालाई मन्त्री नियुक्त गरेका हुन् ।
ताप्लेजुङका बलबहादुर साम्सोहाङ सामाजिक विकास मन्त्री र तेह्रथुमका लछुमन तिवारी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त भएका हुन् । उनीहरुको नियुक्तिको पत्र पुगेसँगै सपथ भएको छ ।
प्रदेशका निवर्तमान मुख्यमन्त्री शेरधन राईले संखुवसभाका तुलसी न्यौपानेलाई पनि मन्त्री नियुक्त गर्न दबाब दिएका थिए । न्यौपानेलाई मन्त्री बनाउन एमाले अध्यक्ष ओलीले पनि निर्देशन दिएकोमा आचार्यले अस्वीकार गरेको एमालेका सांसदहरुले बताएका छन् ।
न्यौपानेसँगै उदयपुरका बिमल कार्की र मोरङका जीवन घिमिरेलाई पनि मन्त्री बनाउन आचार्यमाथि दबाब थियो । उनले भने अहिले नेपाल समूहमा रहेकाहरुलाई तानेर मन्त्री बनाउने प्रयास गरेका थिए । तर, अहिलेसम्म नेकपा एकीकृत समाजवादीमा जाने अनुमान गरिएका १० सांसद आचार्यको सम्पर्कमा पुगेनन् ।