प्रदेश १ : प्रदेश लोकसेवाले कर्मचारी नियुक्त गर्ने

आयोगले भदौ २५ गतेदेखि अर्को परीक्षा संचालन गर्दैछ । आयोगले सहायक स्तर चौथो तहमा ५ हजार ६४८ र पाँचौ स्तरमा तहमा कूल ४ हजार ४९९ जनाको आवेदन प्राप्त भएको जनाएको छ

विराटनगर । प्रदेश लोकसेवा आयोगले स्थापनापछि पदपूर्तिका लागि दुईवटा परीक्षा संचालन गरेको छ ।

इन्जिनियरिङ सेवा, सिभिल समूह, सहायक स्तर चौथो तह असिस्टेन्ट सब इन्जिनियर (पद संख्या ८५) र सहकाय स्तर पाँचौ तह सब इन्जिनियर पदमा जम्मा ४८ पद संख्याको पदपूर्तिको लागि परीक्षा संचालन गरेको हो ।

आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईका अनुसार २०७७ चैत ९ गते, वैशाख ६ गते र असार २४ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट स्थानीय सरकारी सेवा अन्तर्गत विभिन्न सेवा समूहका रिक्त पदहरुको परिपूर्तिका लागि माग आकृति फाराम प्राप्त भएको थियो । सोही अनुरुप चैत ३० गते स्थानीय सरकारी सेवा अन्तर्गत विज्ञापन गरिएको थियो ।

तर, कोरानाको नयाँ भेरियन्टका कारण वैशाख १६ गतेदेखि दरखास्त संकलन स्थगन हुनपुग्यो । फेरि असार २४ गते पुनः दरखास्त संकलन गरेर प्रकाशित विज्ञापन अनुसार दुबै परीक्षा सञ्चालन गरिएको भट्टराईले बताए ।

कर्मचारीको पदपूर्ति मिलानका लागि हाल संघीय सरकारले समायोजन ऐन लागू गरेको छ । विद्यमान कानुनअनुसार गर्न सक्ने अनुरुप नै प्रदेशमा लोक सेवा आयोगले परीक्षाका कार्यक्रमहरु संचालन गर्ने तर फायलबाट हुनुपर्ने बढुवामा भने समस्या रहेको बताउँदै आयोग अध्यक्ष भट्टराईले भने, ‘प्रदेश निजामती र स्थानीय तह सेवा सम्बन्धी ऐन आएको खण्डमा बढुवालगायतमा समेत आयोगले काम गर्न सक्छ ।’ संघीय निजामती सेवा ऐन नआउन्जेल संघीय समायोजन ऐन अनुरुप काम गर्न सकिने र अहिले सोही अनुसार विज्ञापन गर्न सकिने बताए ।

रिक्त स्थानमा कर्मचारीको माग अधिक रहेको पाइएको बताउँदै पद्धतिअनुसार कर्मचारी नियुक्ति भन्दा पनि करारबाट नियुक्ति हुने प्रक्रिया अब निरुत्साहित हुनुपर्ने आयोगले जनाएको छ । अहिले लिखित परीक्षा लिइसकेका कर्मचारीको दशैं अगाडि सिफारिस गर्ने तयारी आयोगको छ ।

आयोगले भदौ २५ गतेदेखि फेरि अर्को परीक्षा संचालन गर्दैछ । आयोगले सहायक स्तर चौथो तहमा ५ हजार ६४८ र पाँचौ स्तरमा तहमा कूल ४ हजार ४९९ जनाको आवेदन प्राप्त भएको जनाएको छ । दुबै तहमा साउन २९ र ३० गते गरिएको परीक्षामा परीक्षार्थीको सहभाभागिता ८३ प्रतिशतभन्दा अधिक छ ।

चौथो तहमा ४ हजार ७०५ जना र पाँचौ तहमा ३ हजार ७७८ जना परीक्षार्थी सहभागी भएको आयोगकी सदस्य सजना दाहालले जानकारी दिइन् । लोकसेवा आयोगले कोरोना संक्रमित परीक्षार्थी भए उनीहरु बञ्चित नहुन भनेर छुट्टै परीक्षा हलको व्यवस्था गरिएको जनाएको छ ।

मङ्गलबार, ०१ भदौ, २०७८, बिहानको ११:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर