विराटनगर महानगरको प्रशासनिक भवन नयाँ बन्दै, मर्मतसहित ४६ करोड खर्च हुने

सभागृहको रेट्रोफिटिङ गरी आधुनिक र सुविधायुक्त सभाहल बनाइदै छ भने हालको प्रशासनिक भवन मर्मत गरी सौन्दर्यकरण गरिँदै

विराटनगर । विराटनगर महानगरपालिकाले यो वर्ष नयाँ भवन निर्माण र पुराना भवनहरुको मर्मत तथा सुधारका योजनामा विशेष ध्यान केन्द्रित गर्ने भएको छ । नयाँ भवन निर्माण र पुरानो मर्मतका लागि मात्र महानगरले ४६ करोड रकम खर्च गर्नेछ ।

अहिले सञ्चालनमा रहेको महानगरको प्रशासनिक भवन पुरानो, कार्यसम्पादनका दृष्टिले अनुपयुक्त र साँघुरो भएको भन्दै महानगरले नयाँ प्रशासनिक भवन बनाउने प्रक्रिया आरम्भ गरेको हो । अहिले सञ्चालनमा रहेको भवनको मर्मत तथा सौन्दर्यकरण गर्ने र वीरेन्द्र सभागृहको पुनरर्संरचना गर्ने कामलाई पनि सँगसँगै निरन्तरता दिने महानगरले जनाएको छ ।

विराटनगर महानगरपालिकाले अहिले सञ्चालनमा रहेको प्रशासनिक भवन जिल्ला प्रशासन कार्यालयसँगै रहेको अतिथि गृहको ५ कठ्ठा जमीनमा सार्ने तयारी गरेको छ । नयाँ प्रशासनिक भवन बनाउन संघीय सरकारले चालु आर्थिक वर्षमा खर्च गर्ने गरी १० करोड ३८ लाख रुपैयाँ निकासा पठाइसकेको महानगरपालिकाका इन्जिनियर अर्जुन थापाले जानकारी दिए ।

महानगरका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा महाशाखा प्रमुखहरूको कार्यकक्ष, सभाहल र बैठक कक्षसहितको ५ तले मुख्य प्रशासनिक भवन आगामी दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी ठेक्का लगाउने तयारी महानगरले गरेको छ । कूल २५ करोड रुपैयाँको लागतमा निर्माण हुने नयाँ प्रशासनिक भवनका विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र चालु वर्षमै निर्माण कार्य आरम्भ हुने थापाले बताए ।

महानगरपालिकाले वर्तमान प्रशासनिक भवनको अग्रभागको पुनःनिर्माण र सौन्दर्यकरणको काम पनि आरम्भ गरेको छ । पुरानो जीर्ण अवस्थाको भवन भत्काएर दुई वटा कोठा निर्माणसहित सौन्दर्यकरणको काम गर्न महानगरले आन्तरिक स्रोतबाट १ करोड १३ लाख रुपैयाँमा ठेक्का लगाएको हो । अहिले पुरानो भवन भत्काउने कार्य जारी रहेको महानगरले जनाएको छ । त्यस ठाउँमा सुरक्षाकर्मीका लागि आवश्यक कार्यकक्ष निर्माण गर्नुका साथै भवनको मुखाकृतिको सौन्दर्यकरण गर्ने र पार्किङस्थल तथा वाटर फाउन्टेनलाई व्यवस्थित गर्ने योजना रहेको महानगरले जनाएको छ ।

महानगरपालिकाले वीरेन्द्र सभागृहको पुनर्संरचनाको कामलाई यो वर्ष तिब्रता दिने जनाएको छ । सभागृहको मुखाकृतिमा खास परिवर्तन नगरी पछडि पूर्वपट्टि तीन वटा नयाँ भवन निर्माण गर्दैछ । तीनमध्ये दुई वटा ३ तले र एउटा एक तले भवन निर्माण हुने इन्जिनियर थापाले जानकारी दिए । तीन भवनमध्ये एउटा भवन स्टेज कार्यक्रम गर्दा आवश्यक सामग्री राख्ने स्टोरको रुपमा प्रयोग हुनेछ भने अर्को भिआइपी कक्ष र भिआइपीको मिटिङ कक्षको रुपमा व्यवस्थापन गरिने छ । तेस्रो भवन ‘रेष्ट रुम’को रुपमा प्रयोग गर्ने गरी निर्माणाधीन छ । सभागृहलाई आधुनिक र सुविधा सम्पन्न बनाउन महानगरले २० करोड रुपैयाँमा ठेक्का लगाएको हो । त्यसका लागि प्रदेश सरकारले गत आर्थिक वर्षमा ३ करोड रुपैयाँ बजेट दिएको थियो भने चालु वर्षमा पनि केही रकम दिएको महानगरले जनाएको छ । प्रदेश सरकारले दिएको बजेटमा अपुग हुने रकम नगर विकास कोष र महानगरपालिकाले आधाआधा व्यहोर्ने गरी योजना सम्झौता भएको छ ।

सभागृहको बाहिरी भागलाई खास नचलाइने महानगरले जनाएको छ । भवनको रेक्ट्रोफिटिङ गरेर मर्मत गर्ने र भित्री भागको पुनर्संरचना गरी सभाहललाई आकर्षक र आधुनिक बनाइने बताइएको छ । भित्रीभागमा मल्टिमिडिया र लाइटिङ सिस्टमयुक्त भवनमा छुट्टै मिडिया रुमसमेत बन्ने छन् । पूर्ण वतानुकुलित सभाहलका सबै कुर्सीहरु नयाँ स्थापना गरिनेछ । सभागृहको बाहिर रहेको भ¥याङ भने नयाँ बनाइने छ भने अगाडितर्फ फाउन्टेन राखिने छ । सभागृह निर्माणको काम चालु वर्षको असारसम्ममा सम्पन्न हुने गरी सम्झौता गरिएको महानगरले जनाएको छ ।

मङ्गलबार, २६ साउन, २०७८, साँझको ०७:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर