ओलीका सहयोद्धाको घर माओवादीद्वारा निर्माण

विर्तामोड । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीसँगै १७ वर्ष जेल जीवन विताएका झापा आन्दोलनका अगुवा सानो दुर्गा अधिकारीको घर नेकपा माओवादी केन्द्रले बनाईदिएको छ ।

जनताको मुक्तिका लागि झापा विद्रोहमा अगुवाई गर्ने मध्येका एक अधिकारीले माओवादीको सहयोगमा नयाँ घर पाएका हुन् ।

झापाको धुलाबारी पुल छेउमा सडक पेटी नजिकै रहेको जग्गामा अधिकारीको घर निर्माण गरि बुधबार हस्तान्तरण गरिएको छ । नयाँ घर बनाइदिएपछि विगत लामो समयदेखि डेरा गरी बस्दै आएका ७० वर्षीय अधिकारी श्रीमतिसँगै घर प्रवेश गरेका छन् ।

परिवर्तनका खातिर १७ वर्ष जेल जीवन बिताएका अधिकारी पछिल्लो समय आर्थिक अवस्था कमजोर हुँदा कष्टकर जीवन बिताउन बाध्य छन् । आन्दोलनका क्रममा अधिकारी ओलीसँगै २०३० सालमा पक्राउ परेका थिए । झापा, इलाम, वीरगञ्ज र काठमाडौँका विभिन्न जेलमा बसेका उनी ओलीभन्दा ३ वर्ष बढी जेल बसेर २०४६ सालमा जेल मुक्त भएका थिए ।

अधिकारीसँगै जेल जीवन बिताएका ओलीसहित अन्य थुप्रै नेताहरू पछिल्लो समय देशको उच्च पदमा पुगिसकेका छन् । उनीहरूले ऐसआरम, सुख–सुविधा र विलासी जीवन व्यतीत गरिरहँदा सानो दुर्गा अधिकारी भने बुढेसकालमा पनि दुःख र अभावका साथ कष्टकर जीवन बिताउन बाध्य छन् ।

झापा क्षेत्र नं. १ का संघीय सांसद राम कार्की (पार्थ) ले आफ्नो क्षेत्र विकास कोषमार्फत ‘आवाजविहीनहरुका लागि आवास’ कार्यक्रम अन्तर्गत बिनियोजित रकमबाट अधिकारीको घर निर्माण सम्पन्न भएको हो । अधिकारीको घर निर्माण सम्पन्न गर्नका लागि सांसद् कार्कीमार्फत ३ लाख १६ हजार रकम उपलब्ध भएको र बाँकी रकम स्थानीय माओवादी कार्यकर्ताबाट व्यवस्थापन गरी श्रमदान गरेर घर निर्माण गरिएको निर्माण समितिका संयोजक होमप्रकाश आचार्यले बताए ।

तीन कोठाको उक्त घरमा बरण्डासहित शौचालय छ । घर निर्माण सम्पन्न भएसँगै जिउदो योद्धा सानो दुर्गा अधिकारीले विगतमा नेताहरुले आश्वासन मात्रै दिएर जाने गरेकोमा अहिले घर निर्माण भएकोमा सांसद कार्की तथा माओवादी नेता र कार्यकर्तालाई धन्यवाद दिएका थिए ।

घर हस्तान्तरण कार्यक्रममा माओवादी केन्द्रका क्षेत्रीय इञ्चार्ज श्यामविर लिम्बू, मेचीनगर संयोजक पुष्प गुरागाईंलगायतको सहभागिता थियो ।

बुधबार, १३ साउन, २०७८, दिउँसोको ०४:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर