राजेन्द्र राई
एमाले किन मिल्ने ? किनकि, हामी नमिल्दा कांग्रेसले खान्छ, हामीले खान पाउँदैनौं ! एकताको लागि यो भन्दा साझा सर्त, स्वार्थ र मीठो कुरा के हुन सक्छ र ? झगडा गर्ने होइन मिल्ने कुरा, गुमाउने होइन खान पाइने कुरा, कति राम्रो कुरा !
तर, घोर एकताप्रेमी मित्रहरुले कम्तीमा यति कुरा चाहिँ बुझ्न जरुरी छ, झगडा किन भयो र आगामी दिनमा झगडा कसरी रोक्न सकिन्छ भन्ने कुराको छिनोफानो नगरी वा त्यस्ता उपायको खोजी नगरी, काले काले मिलेर खाऔ भाले भनेर गरिने एकता किमार्थ दिगो हुन सम्भव छैन, नैतिक, न्यायोचित त परकै कुरा भयो, यसको मतलब फेरि पनि खान पाइने छैन, कम्तीमा खाने बेला रिस उठ्न थाल्छ, झगडा हुन थाल्छ !
नजिकैको कुरा गर्ने हो भने, ओली समूहले सर्वोच्चको अदालतको पछिल्लो फैसला गलत ठहर गरेको छ र सो फैसलाको देशव्यापी भण्डाफोर गर्ने निर्णय गरेको छ । तर, माधव नेपाल समूहको निष्कर्ष अनुसार सर्वोच्च अदालतको फैसला सोह्रै आना सही छ । त्यसैगरी, संविधान र संसद बचाउन भनेर माधव पक्षले गरेका जम्मै क्रियाहरू गद्दारी हो भनेर केपी ओली समूहको निष्कर्ष छ र त्यसै अनुसारको अभिव्यक्ति र आक्रोश त्यो समूहबाट पार्टीभित्र, बाहिर, सर्वत्र प्रकट भइरहेको छ । तर माधव नेपाल समूहले संसद मात्र होइन संविधान, लोकतन्त्र, व्यवस्था जोगाउन गतिलो काम गरियो भन्ने निष्कर्ष निकालेको छ ! सांसदलाई स्पष्टीकरण, गद्दार घोषणा, पुत्लादहन आदि इत्यादि त छँदैछ ।
यी र यस्तै अन्य विषयमा कुरा नमिली केवल मिलेर खाने हुटहुटीले मात्र एकता सम्भव हुन्छ ? किमार्थ हुँदैन ! यसको मतलब, फेरि झगडा हुनेछ, खान पाइने छैन ! अरू गम्भीर सैद्धान्तिक कुरा त पछि गर्दै गरूँला, खान पाउने कुराको अगाडि सैद्धान्तिक कुराको अर्थ पनि त छैन, उनीहरुका लागि ।
पार्टी अध्यक्ष केपी ओली आफैले बालुवाटारदेखि बालकोटको बार्दलीबाट माधव नेपाललाई करिब होस गुमाएर गाली गरिरहेको अवस्थामा एकता कसरी सम्भव होला ! यी र यी जस्तै नजिकको र महत्वपूर्ण विषयमा चाहिँ सहमति नखोजी जति नै बुँदाको सहमति गरे पनि काम छैन बरु यस्ता कुराले दोस्रो पुस्ताको योग्यता माथि प्रश्न उठ्नेछ, उठिसकेको छ । अझ वार्ता कार्यदल भंग गर्ने निर्णय हुँदा त्यसो गरिनु हुँदैन, वार्ता र कार्यदलको औचित्य अझै छ भनेर बोल्न नसक्ने अनि कार्यदलकै नाममा वार्ता गरिरहने दोस्रो पुस्ताका नेताबाट त के आशा गर्न सकिन्छ र ?
(एमालेका प्रभावशाली युवा नेता राईको फेसबुकवालबाट)