ओली समूहमै किन भयो विद्रोह ? टिके प्रथा र मनोमानीविरुद्ध विरोध होः कुमार लिम्बू

उर्लाबारी । मोरङको उर्लाबारीमा नेकपा एमाले ओली समूहको नगरस्तरीय विस्तारित बैठक स्थलमा तोडफोडमा सोही समूहमा कार्यकर्ता संलग्न रहेको खुलेको छ ।

उर्लाबारी नगरपालिका–८ स्थित एभरेष्ट फनपार्कमा तयार पारिएको बैठकस्थलमा आज बिहान ११ बजे बोलाइएको बैठक सुरु नभई तोडफोड भएको थियो । तोडफोडबाट कार्यक्रमका लागि तयार पारिएको ब्यानर, कुर्सी, झ्यालका सिसालगायतमा क्षति पुगेको छ । करिब २ लाख बराबरको क्षति भएको एभरेष्ट फनपार्कका सञ्चालक हेम गुरुङले जानकारी दिए ।

नगर कमिटी घोषणा र सदस्यता नवीकरण गर्न बैठकको आयोजना गरिएको थियो । तर, नगर कमिटीमा भूगोल र पार्टीमा योगदान पु¥याएका भन्दा पनि मनोमानी तरिकाले चयन गर्न खोजिएको भन्दै राष्ट्रिय युवा संघका कुमार लिम्बूलगायतका युवाहरुले विरोध जनाएका थिए । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले तोडफोड गरेको आरोप एमाले संस्थापन पक्षले लगाएको छ । तर, लिम्बू ओली समूहमै सक्रिय युवा हुुन् ।

आफ्नो संलग्नता नरहेको नेपाल समूहको दाबी

नेकपा एमाले उर्लाबारी (माधव नेपाल) समुहका अध्यक्ष गंगा बाँस्तोलाले एभरेष्ट फन पार्क घटनामा आफ्नो समुहको कुनै संलग्नता नरहेको दाबी गरेका छन् । ‘हाम्रो समूहमा रहेका नेता कार्यकर्तालाई बैठकमा नजान यसअघि नै भनि सकिएको थियो,’ बाँस्तोलाले भने, ‘तोडफोडको जानकारी नभएको अवस्थामा बद्नाम गराउन सुनियोजित हिसाबले आरोप लगाइयो ।’ पदीय भागबण्डा नमिलेर संस्थापन पक्षबीचकै झगडाले त्यो रुप लिएको उनको दाबी छ ।

टिके प्रथा र मनोमानीविरुद्ध विरोध होः कुमार लिम्बू

एमाले उर्लाबारीको नेतृत्वमा टिके प्रथा र मनोमानी ढंगले चयन गर्न खोजिएकाले विरोध गरेको युवा नेता कुमार लिम्बूले प्रष्ट पारेका छन् ।

नेकपा एमालेको मोरङ उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा भएको नगरस्तरीय विस्तारित बैठकमा आक्रमण र तोडफोडका बारेमा कुराकानी गर्दै युवा नेता लिम्बूले पार्टीमा योगदान पु¥याउने भन्दा पनि टिके प्रथाबाट नेतृत्व चयन गर्ने प्रयास भएको र त्यसको विरोध मात्र गरेको प्रष्ट पारेका हुन् । लिम्बूले कुराकानी गर्दै आफुले तोडफोड र आक्रमण नगरेको दाबी गरे । युवा साथीभाईहरुलाई पार्टीले उपेक्षा गरेपछि असन्तुष्टि पोखेको भएपनि कसले तोडफोड गरेको भन्ने विषयमा आफुलाई थाहा नभएको उनले जानकारी दिए । ‘हामीले टिके प्रथा र मनोमानीको विरोध जनाएको हो, तोडफोड र आक्रमण गरेको होइन,’ ओली समूहमा सक्रिय युवा नेता लिम्बूले भने, ‘एमाले कसैको पेवा होइन, सबैलाई समेट्नु पर्छ ।’

यता प्रहरीले भने राष्ट्रिय युवा संघ उर्लाबारीमा आवद्ध कुमार लिम्बू, एलिन लिम्बूसमेतको समूहले घटना गराएको जनाएको छ । घटनापछि फरार बनेका उनीहरुको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

तोडफोडकाबीच एमाले उर्लाबारीको विस्तारित बैठक

विस्तारित बैठकका लागि तयार पारिएको हलमा तोडफोड भएपछि नेकपा एमाले उर्लाबारी नगर कमिटीको बैठक हल बाहिरै बसेको छ ।

नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेष पोखरेलको प्रमुख आतिथ्यतामा बैठक बसेको हो । बैठक सुरु हुनु अगावै बिहान पार्टी सम्बद्ध रहेका केही युवाहरुले बैठकस्थलमा राखिएका कुर्सी टेबुल तोडफोड गरेका थिए । नेकपा एमाले उर्लाबारी नगर कमिटीका अध्यक्ष उमाकान्त गौतमले कार्यक्रम सुरु अगावै पार्टीका केही कार्यकर्ताले तोडफोड गरेको बताए ।

बैठकस्थलमा युवाहरुको समुहले फालेको कुर्सीले लागेर एकजना पार्टी कार्यकर्ता सामान्य घाइते भएको जनाइएको छ । नगर कमिटी अध्यक्ष गौतमको अध्यक्षतामा भएको बैठकमा नेकपा एमाले मोरङका स्कुल विभाग प्रमुख रुपेश खतिवडा, क्षेत्रीय इन्चार्ज भुपाल जिमी, उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी भण्डारीलगायतका नेता कार्यकर्ताहरु सहभागी थिए ।

बिहिबार, ०७ साउन, २०७८, साँझको ०७:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर