विराटनगर । पार्टी भित्रको विवाद नेकपा एमाले मोरङले साउन १० गतेभित्र सवै पार्टी सदस्यहरुलाई सदस्यता नवीकरण गरिसक्न निर्देशन गरेको छ । नेकपा एमाले मोरङको संगठन विभागको हिजो बसेको वैठकले जिल्लाका सवै पालिका कमिटीहरुलाई यस्तो निर्देशन गरेको हो ।
संगठन विभाग प्रमुख महेश भट्टराईको अध्यक्षतामा बसेको वैठकमा केन्द्रिय सर्कुलरको समेत जानकारी गराउँदै नेकपा एमालेका मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले निर्धारित समयभित्र सदस्यता नवीकरण तथा अधिवेशनहरु सम्पन्न गर्न निर्देशन दिनुभएको छ । पालिका कमिटीका अध्यक्ष र सचिवहरु समेतको सहभागिता रहेको वैठकले पार्टी सदस्यता नवीकरण साउनको १० गतेभित्र जिल्ला पार्टी कार्यालयमा बुझाउन निर्देशन दिएको हो ।
यस्तै भदौ ५ गते मोरङका १५९ वटै वडा कमिटीको र भदौं १५ गते १७ वटै पालिका कमिटीहरुको अधिवेशन गर्ने निर्णय गरेको छ । यस्तै पार्टी सदस्यहरुको अभिलेखिकरण गरि सदस्यता परिचयपत्र साउन मसान्तभित्र वितरण गरिसक्ने निर्णय भएको नेकपा एमालेका स्कुल विभाग प्रमुख रुपेश खतिवडाले जानकारी दिनुभएको छ । यसैगरी आगामी तीनै तहका निर्वाचनको तयारीमा समेत जुट्ने वैठकले निर्णय गरेको छ ।