विराटनगर । नेपाली कांग्रेसको उद्गम तथा ऐतिहासिक थात थलो विराटनगर महानगरपालिकाको सभापति को बन्ने भन्ने विषयमा सो पार्टीका स्थानीय नेताले दौडधूप सुरु गरेका छन् ।
कांग्रेसको १४ औं महाधिवेशनको सन्दर्भमा आगामि साउन १६ गते महानगर समितिको चयन हुने कार्यतालिका छ । सभापतिसहित कार्यसमितिका लागि कांग्रेसका झण्डै ८ हजार क्रियाशिल सदस्यहरुले प्रत्यक्ष निर्वाचन मार्फत छनौट गर्नु पर्नेछ ।
यसअघि कांग्रेस महानगर समितिमा भीम पराजुली निर्वाचित भएका थिए । पराजुलीले प्रतिद्वन्द्वीहरु मनोज बस्नेत र दीपक चापागाईलाई डबल मतले जितेका थिए । उनै पराजुली स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिका प्रमुखको उम्मेदवारको रुपमा पार्टीबाट टिकट लिन सफल भए र विजयी बने । यसकारण कांग्रेसको महानगर सभापतिलाई भावी मेयरको रुपमा हेरिने हुँदा पनि कांग्रेसको महानगर सभापतिमा धेरैको आँखा लागेको छ ।
हालसम्म विराटनगर महानगरपालिको सभापतिका लागि कांग्रेसमा विराटनगर–२ का दीपक चापागाई र अरुण न्यौपाने तथा विराटनगर ५ का सन्तोष न्यौपाने र विराटनगर ३ का कृष्ण कार्की दौडमा छन् । उम्मेदवारमध्ये चापागाई र न्यौपानेद्वय विराटनगरमा पुस्तौनी बसोबास गरिरहेका व्यक्ति हुन् भने कार्की १५÷१६ वर्षदेखि विराटनगरमा बसोबास गरिरहेका विद्यार्थी नेता हुन् ।
यसअघि स्वतन्त्र ढंगले सभापतिमा प्रतिस्पर्धा गरेका चापागाईले यसपटक शेखर कोइरालाको समर्थनमा उठ्न लागेको बताएका छन् । सागर न्यौपाने र कृष्ण कार्की भने आफू सबैपक्षका नेताहरुको समर्थनमा सभापतिमा उठ्न लागेको बताएका छन् । स्रोतका अनुसार न्यौपाने र कार्कीलाई केन्द्रीय सभापति शेरबहादुर देउवापक्षका केन्द्रीय सदस्य अमृत अर्यालको समर्थन रहेको छ । यता अरुण न्यौपानेलाई भने पछिल्लो पटक कृष्ण सिटौला पक्षमा लागेका विराटनगरका प्रमुख भीम पराजुलीले समर्थन गरेका छन् । यद्यपि उनले भने आफू क्रियाशिल सदस्यहरुको समर्थनमा सभापतिमा उठ्न लागेको र सबै नेताहरुको समर्थन रहेको बताएका छन् ।
झण्डै ५० प्रतिशत मधेशी समुदायको बाहुल्य रहेको विराटनगर महानगरपालिकामा कांग्रेसको नेतृत्व दौडमा भने सो समुदायका तर्फबाट अहिलेसम्म एक जना पनि देखिएका छैनन् ।
कसको अवस्था कस्तो ?
विराटनगर महानगरपालिकाको कांग्रेस निर्वाचनमा पार्टी नेताहरू शेखर कोइराला, महेश आचार्य र अमृत अर्यालको आ–आफ्नै दाउपेच चलिरहेको छ । स्रोतका अनुसार शेखर कोइरालाको निर्वाचन क्षेत्रमा ३ हजार ५ सय, महेश आचार्यको क्षेत्रमा ४ हजार र अमृत अर्यालको क्षेत्रमा ५÷७ सय क्रियाशिल सदस्य रहेको बताइन्छ । यद्यपि क्रियाशिल सदस्यको टुंगो अझै नलागेको कारण केही तलमाथि हुनसक्ने देखिन्छ । महेश आचार्यले चाहेर पनि अन्य निर्वाचन क्षेत्रका क्रियाशिललाई प्रभाव नपार्ने तर अर्याल र कोइरालाको प्रभाव अन्य निर्वाचन क्षेत्रमा पनि हुने कांग्रेस स्रोत बताउँछ ।
त्यसबाहेक विराटनगर कांग्रेसमा फोरम लोकतान्त्रिक र राप्रपाबाट कांग्रेस प्रवेश गरेकाहरुको संख्या यकिन भइसकेको छैन । ‘हामीले हेर्दा अर्याल, कोइराला र आचार्यमध्ये दुईपक्ष जता मिले पनि भारी हुने देखिन्छ,’ कांग्रेसका एक नेताले भने, ‘अहिलेसम्म कोइराला र आचार्यकै मिल्ने सम्भावना देखिएको छ ।’ कांगे्रसको केन्द्रीय राजनीतिमा कायम रहने समीकरणले पनि विराटनगरमा प्रभाव पार्ने निश्चित छ । यता विराटनगरका प्रमुख भीम पराजुलीको भने अहिले कांग्रेसजनमा पनि राम्रो छवि नरहेको बताइन्छ । उनले गर्ने चलखेलले खासै असर नपार्ने कतिपयको भनाइ छ ।
को उम्मेद्वार कस्ता ?
दीपक चापागाईं
कांग्रेसको राजनीतिमा स्पष्ट र वैचारिक नेताको रुपमा चिनिएका नेता हुन् दीपक चापागाईं । नेपाल तरूण दल विराटनगरका नगर सभापति भएर काम गरिसकेका दीपकले ०४६ सालमा कांग्रेसको सदस्यता लिएका हुन् ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान पु¥याएको गुरा“स पुस्तकालय बरगाछीका अध्यक्षसमेत भएर धेरै सामाजिक गतिविधिमा सक्रिय चापागाईं सुशील कोइराला फाउण्डेसनका महासचिव पनि हुन् ।
महानगरको सभापतिको रुपमा अगाडि सरेका उनी अहिले कांग्रेसको शाख गिरेको बताउँछन् । ‘कांग्रेसले जितेको महानगरपालिकाले गरेको काम जनताको पक्षमा देखिएन’ उनी भन्छन्, ‘नगरपालिका हावादारी कुरामा चल्यो, जनतासँग प्रत्यक्ष जोडिएको काम गर्न सकेन, महामारीमा जनताको मर्म बुझ्न सकेनौं ।’
विराटनगरको ऐतिहासिक विरासतलाई जोगाउने गरी काम गर्नुपर्ने आवश्यकता देखिएको, कांग्रेसलाई अराजनीतिक भीड हुनबाट जोगाउनु पर्ने र युवाहरुलाई पार्टीमा आकर्षित गर्ने आफ्ना प्रमुख एजेण्डा रहेको उनी बताउँछन् । विराटनगर कांग्रेसको ऐतिहासिक भूमि भएको भएपनि ०७४ को निर्वाचनमा संघीय संसदको तीनवटै क्षेत्र हारेको, २ वटा प्रदेशसभा संसद पदमा पनि हार व्यहोर्नु लज्जास्पद भएको उनको भनाइ छ । यस्तो अवस्थालाई उचाईमा लैजान आफ्नो उम्मेद्वारी महत्वपूर्ण रहेको उनको भनाइ छ । पुख्र्यौली सम्पत्ती र कलेजको लगानीबाट आउने आम्दानीले आफ्नो जीवन चलिरहेको उनको भनाइ छ ।
अरुण न्यौपाने
कांग्रेसका कार्यबहाक सभापतिको रुपमा काम गरिरहेका अरुण न्यौपाने विराटनगरका स्थायी बासिन्दा हुन् । पुख्र्यौली कांग्रेसको विराशत बोकेका उनको विराटनगरमा फर्निचर व्यवसाय तथा इन्भेस्टमेन्ट कम्पनीमा लगानी छ । त्यहीबाट खर्च गरेर आफूले राजनीति गरिरहेको उनी बताउँछन् ।
०५२ सालदेखि पार्टीमा सक्रिय रहेको बताउने उनी भने विराटनगगर महानगरपालिकाको सभापतिका लागि क्रियाशिल सदस्यहरुको समर्थन आफूलाई रहेको बताउँछन् । ‘म क्रियाशिल सदस्यहरुको भोट पाएर जित्ने उम्मेद्वार हुँ,’ उनले भने, ‘मलाई कसैको आशिर्वाद आवश्यक पनि छैन र सबै नेतालाई समान ढंगले हेर्छु ।’ कांग्रेसको नेतृत्व भएर पनि विराटनगर महानगरपालिकाले जनताको अपेक्षा अनुसार काम नगरेको भन्ने कतिपय पार्टी नेताकै टिप्पणीप्रति उनले असहमति जाहेर गरेका छन् । ‘महानगरपालिकाले राम्रो काम गरिरहेकै छ नि, २ वर्ष कोराना महामारी भयो, सबैले राम्रो गर्न सकेनन्, यहाँ मात्रै होइन,’ उनले भने, ‘आफू कार्यबहाक बनेपछि कांग्रेसको संगठन चलायमान भएको छ, क्रियाशिल सदस्य बढेका छन् ।’
सन्तोष न्यौपाने
विराटनगर स्थायी घर भएका सन्तोष न्यौपानेले पनि ४६ सालदेखि पार्टी सदस्यता लिएका हुन् । त्यसयता उनी निरन्तर नेविसंघमा रहेर काम गरे । अहिले पनि तरुणदलमा आवद्ध उनी नगरमा गुटउपगुट नराखी काम गर्ने बताउँछन् । नगरसभापति भएलगत्तै मेयरको रुपमा चर्चा भइरहेको प्रति उनले असहमति राख्दै आफू पार्टीगत राजनीतिमा लाग्ने तर जनप्रतिनिधि नबन्ने घोषणा गरे ।
तरुण दलको विराटनगर सभापति रहेका उनी नगरकै नेविसंघको दुई कार्यकाल सभापति बने । यस्तै तरुणदलको मोरङ सचिव भइसकेका उनी विराटनगर महानगरपालिकाको सभापति बन्नकै लागि अढाइ वर्षदेखि तयारी गरिरहेको बताउँछन् ।
आफू कुनै पनि नेताहरुको समर्थनमा भन्दा पनि कांग्रेसको लाइनबाट सभापतिको उम्मेदवार बन्न लागेको उनको भनाइ छ । ‘यहाँ धेरै गुटउपगुट छन्, यसलाई भत्काउने मेरो मुख्य एजेण्डा हो,’ उनले भने, ‘मैले सबै नेतालाई भनेको छु मेरो उम्मेद्वारीको विषयमा सबैलाई थाहा पनि छ ।’ कांग्रेस निकट स्रोतका अनुसार स्थायी आम्दानीको स्रोत नभएका न्यौपानेको खास पेशा तथा व्यवसाय छैन ।
कृष्ण कार्की
राजनीतिलाई नै पेशा बनाइरहेका कार्की विराटनगरका स्थायी बासिन्दा बनेको धेरै भएको छैन । उनी १५÷१६ वर्ष अगाडिदेखि विराटनगरलाई मुख्य कर्मथलो बनाएका छन् । उनको आम्दानीको स्रोत देखिएको छैन । कक्षा १० मा अध्ययन गर्दै गर्दा २०५१ सालदेखि नै नेविसंघ पोखरिया स्कुल ईकाईबाट राजनीति सुरु गरेका थिए । नेविसंघ जिल्ला सचिव, कांग्रेसको १३ औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएभने हाल नेपाल विद्यार्थी संघको केन्द्रीय सह महामन्त्री भएका छन् ।
काग्र्रेसको संगठन विस्तार गरि संगठन लाई चुस्तदुरस्त बनाउने, आम युवालाई काग्रेसतर्फ आकर्षित गराउने र अग्रजको नेतृत्वमा शान्ति र संविधान, युवाको नेतृत्व समृद्धिको अभियान भन्ने नारालाई सार्थकता प्रदान गर्ने अबको आफ्नो एजेण्डा भएको उनको भनाइ छ । अहिलेसम्म विभिन्न राजनीतिक आन्दोलनका क्रममा प्रहरीको धरपकडमा थुप्रै पटक परेको बताउने कार्कीले पनि आफ्नो कुनै गुट उपगुट नभएको बताए ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।