लोड हुँदैछ...

मेनु

प्रदेश १ सामाजिक विकास मन्त्रालय : मन्त्री-कर्मचारी द्वन्द्व

प्रदेश १ सामाजिक विकास मन्त्रालय : मन्त्री-कर्मचारी द्वन्द्व

विराटनगर । प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालय प्रदेशका अन्य मन्त्रालयभन्दा धेरै कार्यक्षेत्र भएको मन्त्रालय हो ।

शिक्षा, स्वास्थ्य, रोजगार, खेलकुदसहित सामाजिक विकासका धेरै क्षेत्रहरु हेर्ने मन्त्रालयमा एकपछि अर्को विवाद बारम्बार देखिने गरेका छन् ।

मन्त्रालयमा मन्त्री र सचिब तथा मन्त्री र अन्य कर्मचारीबीच पनि बारम्बार द्वन्द्व देखिने गरेको छ । सबैसँग समन्वय गरेर काम गर्ने स्वभाबका पूर्वमन्त्री जीवन घिमिरेको पालमा पनि सचिबसँग समन्वय राम्रो सहकार्य हुन नसकेको मन्त्रालयमा अहिले पनि अवस्था उस्तै छ ।

शिक्षा र स्वास्थ्यको क्षेत्रमा लामो समय काम गरेका कर्मचारीहरु भएको कारण पनि मन्त्रीसँग काममा समन्वय नहुने गरेको कर्मचारीहरु बताउँछन् । मन्त्रीले कर्मचारीहरुको मनोविज्ञान नबुझ्ने र कर्मचारीले मन्त्रीभन्दा आफूहरु नै सर्वज्ञानी रहेको ठान्ने प्रवृत्तिले यस्तो समस्या रहेको उनीहरुको भनाइ छ ।

प्रदेशको पहिलो महिला मन्त्रीको रुपमा उषाकला राई मन्त्रालय प्रवेश गरेपछिको अवस्थामा पनि सुधार भएको छैन । मन्त्रालयका सचिब र मन्त्री राईको सम्बन्ध सहज छैन । मन्त्रालयका कामदेखि विभिन्न टेण्डरका विवादहरुमा पनि उनीहरुको मत बाझिने गरेको छ । यसअघि कोशी कोभिड अस्पतालको पूर्वाधार विकास कुन प्रक्रियाबाट गर्ने भन्नेमा मन्त्री र सचिब गोविन्दबहादुर कार्कीको मतभेद देखिएको थियो ।

कोरोनाविरुद्धको खोप वितरणमा मन्त्रालयले अनियमितता गरेको आरोप लाग्यो । कर्मचारीले खोपमा मनोमानी गरेको भन्दै मन्त्रीले कडाई गरेको बेला मन्त्रीले नै आपूmनिकटका कार्यकर्तालाई जथाभावी खोप लगाईदिएको आरोप भोगिन् ।

खोप वितरणको जिम्मा पाएको आपुर्ति व्यवस्थापन केन्द्रका कर्मचारीले खोपमा मनोमानी गरेको भन्दै मन्त्री राईले आफ्नो तोकआदेशविना खोप वितरण नगर्न निर्देशन दिएकी थिइन् । तर, मन्त्रीको निर्देशनविपरीत कोभिशिल्डको स्टकमा रहेको केही खोप बेपत्ता भएको थियो । त्यसबारे मन्त्रीले कर्मचारीमाथि कडाई गरेपछि केहि कर्मचारीले सामाजिक सञ्जालमै मन्त्रिविरुद्ध छेडछाड गरेका थिए ।

आपूmर्ती व्यवस्थापन केन्द्रका कर्मचारी र मन्त्रीबीच स्वास्थ्य सामाग्री खरिद प्रक्रियाबारे पनि विवाद भएको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दरबन्दी भएपनि केन्द्रमा काजमा कार्यरत कर्मचारी काशी पराजुलीको विवादकै कारण मुख्यमन्त्री कार्यालयले काज फिर्ता गरेको छ । तर, काज फिर्ता भएको एक महिना बितिसक्दा उनी केन्द्रमै हाजिर गरिरहेका छन् ।

छैठौंं तहका अधिकृत पदका पराजुलीसँग मन्त्रीको विभिन्न विषयमा मतभेद भएपछि उनको काज फिर्ता गरिएको थियो । तात्कालिन स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ विराटनगर आएको बेला कोभिशिल्ड खोप लगाउन खोज्दा कर्मचारीले खोप छैन भन्ने जवाफ दिएकोमा मन्त्रालयले खोजी गर्दा १६५ भाइल खोप फेला परेपछि खोप लुकाएर दुरुपयोग भएको पुष्टि भएको थियो ।

आपूर्ती व्यवस्थापन केन्द्रमा सत्तारुढ दल नेकपा एमालेको ओली समूहसँगै निकट रहेका पराजुली काजमा गएका थिए । एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्यसमेत रहेका उनी लामो समय कोशी अञ्चल अस्पतालमा काम गरेपछि औषधि व्यवस्था विभागमा सरुवा भएका थिए ।

कोशीबाट सरुवा हुँदा पनि रमानापत्र नबुझ्न प्रयास गरेका उनी कर्मचारी संगठनको नेतृत्वमा रहेकोले जुनसुकै कार्यालयमा दबाब र प्रभाब कायम राख्न सक्छन् । खोप दुरुपयोगको विवादपछि पछिल्लो समय औषधि खरिदका लागि सामाजिक विकास मन्त्री राईले ई–टेण्डर गर्न दिएको निर्देशन विपरित केन्द्रले औषधि खरिद प्रक्रिया बढाएको थियो । मन्त्री राईले त्यसरी बढाइएको २ करोड रुपैयाँ बराबरको खरिद प्रक्रिया रद्द गरिदिइन् ।

मन्त्रीले ई–टेण्डरमा जोड दिएको भएपनि केन्द्रले छुट्टाछुट्टै कोटेशन र टेण्डरमार्फत खरिद गर्ने प्रक्रिया अगाडि बढाएको थियो । त्यसमा पनि पराजुली जोडिएको आशंकासहित मन्त्रीले उनको काज फिर्ता गर्न मुख्यमन्त्री कार्यालयमा दबाब दिएको मन्त्रीनिकट स्रोतले जनाएको छ ।

पराजुलीले भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट काज फिर्ता भएको जानकारी आएपनि बरबुझारथ गर्नुपर्ने कर्मचारी नआइपुगेकोले आपूर्ती व्यवस्थापन केन्द्रमै हाजिर भइरहेको बताएका छन् । उनले आपूm प्रशासनको कर्मचारी भएकोले खोप दुरुपयोग गरेको विषय आफूसँग नजोडिने भन्दै उनले त्यबारे समाचार आएमा उच्च अदालतमा मुद्दा हाल्ने चेतावनी दिएका छन् ।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

काशीराज पराजुली
July 7, 2021 9:25 PM

पत्रकार मीत्र, नमस्कार। हाम्रोमत अनलाईन मार्फत मेरो नाम जोडेर 165 भायल खोप लुकाएको भन्ने आशयको समचार प्रती म सहमत छैन। (१) म प्रशासन सेवाको कर्मचारी भएकोले सो कार्यालयमा खोप संवन्धि संपुर्ण जिम्मा कोल्डचेन निरीक्षक पदका 2 जना कर्मचारी साथीहरूसंग रहने जानकारी गराउछु। (२) मेरो काज फिर्ता भएको सही हो। मेरो जिम्मेवारीमा रहेको कागजात र सरकारी सम्पत्ति हालवालालाई वुझाउनु पर्ने र हालवाला कर्मचारी साथी हाजीर हुन आउन ढिलाई गरेको कारण वरवुझारथको काम हुन नपाएर म नफर्कीएको हो। (३) म कर्मचारी संगठन को केन्द्रीय सदस्य हुं तर कुनै नेता निकटको हैन। मलाई देशभरीकै कर्मचारी संगठन का केन्द्रीय प्रतिनिधि साथीहरूले मत दिएर विजय गराउनु भएको हो। तर सत्यकूरा के हो भने म वर्तमान प्रधानमन्त्री के. पि. शर्मा ओलीलाई विश्वाशिलो र परिपक्क राजनेताको रूपमा व्यक्तिगत रूपमा मान्छु। मेरो विश्वास र विश्वासयोग्य वाटो रोजाईले कोही कसैलाई हानी पुर्याएको छैन भन्ने मेरो ठम्याई हो। (३)वर्तमान सामाजिक विकास मन्त्री माननीय उषाकला राई र म विच वैमनस्यता भएको भन्ने समाचार झुटो हो। सामान्य रुपमा दैनन्दिन अफिस गएर आफ्नो फांटको काम गर्ने कर्मचारी र विभागीय मन्त्री विच वैमनस्यता रहने ठाउं नै के रहन्छर, र थिएन पनी। (४)मैले मेरो 26 वर्षे जागीरको दौरानमा मेरो नाम मन्त्री संग जोडेर आउंछ भन्ने कल्पना गरेको पनी थिइन। हजुरवाट फोटो सहित आउने गरी प्रकाशित भएछ। एकपटक म संग भेटेर स्पश्ट भएर समाचार आईदीएको भए अझ ठिक हुनेथियो। खोप संवन्धको सवै दोसी तपाई अरे भनेर सोध्नु भा थ्यो फोनमा ।हैन भनेको थिए ।यती समाचारले मात्र मेरो मान हानी हुदैन भन्ने लागेको छ। नहुने नहुने र नभएका कुरा मात्रमा मेरो नाम जोडिएर समाचार आए उच्च अदालत जानुपर्ने पनि हुनसक्छ भनेको थिए। धन्यवाद।

प्रतिक्रियाहरू बन्द छन्।

This will close in 0 seconds