लोड हुँदैछ...

मेनु

सम्पादकीय: प्रदेश १ प्रहरी प्रमुखका चुनौती

सम्पादकीय: प्रदेश १ प्रहरी प्रमुखका चुनौती

१ नम्बर प्रदेश प्रहरी कार्यालयको प्रमुखका रुपमा डिआइजी अरुणकुमार बिसी त्यस्तो बेलामा जिम्मेवारी सम्हाल्न आइपुगेका छन्, जतिबेला प्रहरी स्याउ तस्करीका कारण बद्नामी खेपिरहेको छ । सुनसरीको लाही नाकाबाट निषेधाज्ञाका बेलामा भएको स्याउ तस्करी प्रकरणमा मुछिएका चार जना प्रहरी कारवाहीमा परेका छन् । त्यसबेलाका प्रदेश प्रहरी प्रमुख डिआइजी ईश्वरबाबु कार्कीको नामसमेत उक्त काण्डमा मुछिएको छ । स्याउ तस्करी एउटा प्रतिनिधि घटना मात्रै हो, यस्ता धेरै प्रकरणहरु छन्, जसमा प्रहरी मुछिएको छ । यस्तो घटनाबाट प्रहरीलाई टाढा राख्ने उपायको खोजी सम्भवतः उनको सबैभन्दा ठूलो चुनौती हो ।

प्रदेश १ पर्याप्त सुरक्षा चुनौतीसहितको प्रदेश हो । यसबारे अनुभवी प्रहरी अधिकारीहरु जानकार नहुने कुरै हुन्न । तर, पर्याप्त जानकारी, अनुभव हुँदाहुँदै पनि प्रहरी बारम्बार चुक्ने समस्या पुरानै हो । भारतीय सीमा, चिनियाँ सीमासँग जोडिएको प्रदेशमा मुख्यरुपमा सीमापार अपराध र तस्करीका धन्दा धेरै हुने गरेका छन् । त्यस्ता घटनाहरु सकेसम्म हुनै नदिने, भए पनि संलग्नहरुलाई कारवाहीको दायरामा ल्याउन सक्दा मात्रै प्रहरी सफलता मानिनेछ । यसबाहेक सामाजिक रुपमा सुुरक्षाको प्रत्याभूति दिन पनि उसले आफूलाई खरो उतार्नुपर्नेछ ।

डिआइजी बिसीले खुला सीमाको फाइदा उठाउँदै तस्करसँग मिल्ने प्रहरीहरूलाई तत्काल कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् । निश्चय नै कार्यालयको प्रमुखका रुपमा उनले व्यक्त गरेको प्रतिबद्धता स्वागतयोग्य छ । तर, कुनै पनि प्रहरी यस्ता धन्दामा सहभागी बन्न उसको सिनियरको ‘ग्रीन सिग्नल’ बेगर तयार हुन सक्दैन । प्रहरीभित्र जो होचो उसैको मुखमा घोचो शैलीको अन्याय कायमै छ । त्यसैले तल्लो तहका प्रहरी कज्याउन मात्रै होइन, उच्च तहका अधिकारीहरुसहित आफैलाई पनि पूर्णतः व्यावसायिक अनुशासनमा बाँध्नु पनि अनिवार्य छ । यसले मात्रै प्रदेशभरको प्रहरी संगठनलाई अनुशासित राख्न मद्दत गर्नेछ ।

जनताको सुरक्षाको मुख्य दायित्व बोक्ने प्रहरीलाई समुदायसँग सहकार्य गर्ने वातावरण बनाउने जिम्मा पनि नेतृत्वकै हुन्छ । त्यसैले केवल विराटनगर मात्रै होइन प्रदेशका १४ वटै जिल्लाका जनताले प्रहरीमाथि भरोसा गर्ने वातावरण बनाउनुपर्छ । यसअघि मोरङ सफल प्रहरी प्रमुख भएर चिनिएका बिसी यसबारे जानकार छन् । उर्लाबारीका सनम शाक्यको हत्या पछि तानिएको साढे ३३ किलो सुन तस्करी प्रकरणको सफल अनुसन्धान गरेका प्रहरी अधिकारी हुन् उनी । त्यसैले प्रदेश प्रहरीलाई व्यावसायिक मर्यादा र मूलभूत जिम्मेवारी पालना गराउन सक्षम बनाउँदा मात्रै उनी सफल प्रदेश प्रहरी प्रमुखका रुपमा चिनिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।