विराटनगर । प्रहरीको मिलेमतोमा सनुसरीको लाही नाकादेखि भारततिर तस्करी भएको तीन ट्रक चाइनिज स्याउ प्रकरणमा प्रहरीका उच्च अधिकारीविरुद्ध समेत छानविन हुने भएको छ ।
स्याउ तस्करी प्रकरणमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर रानीका सइसहित चार जना प्रहरी कारवाहीमा परेपछि उच्च ओहदामा रहेका प्रहरी अधिकारीमाथि पनि प्रहरी प्रधान कार्यालयले छानविन गर्ने भएको हो ।
गत जेठ २९ गते राती सुनसरीको लाही नाकादेखि तस्करी भएको तीन ट्रक स्याउ १ हजार ३ सय ५० कार्टुन स्याय जेठ ३० गते विहान भारत बिहार, सुपौल जिल्लास्थित वीरपुर–भीमनगर सडक खण्डमा भारतीय प्रहरीले नियन्त्रणमा लिइएको थियो । विराटनगर, धनुषा र सप्तरीबाट एक हजार ३५० कार्टुन स्याउ बोकेर त्यहाँ पुगेका तीनवटा ट्रक भारतमा पल्टी गर्ने क्रममा पक्राउ परेका थिए । तीन ट्रकमध्ये एक ट्रक विराटनगरका व्यापारी शंखर चौधरीले जानकी कोल्ड स्टोरबाट ना ६ ख १८९५ नम्बरको ट्रकमा स्याउ लोड गरेर पठाएका थिए । भारतीय कारोबारी मो.अर्लामसँगको साझेदारीमा भारतीय व्यापारी पवन चौधरी (जैसवाल)ले स्याउ मगाएको स्रोतको दाबी छ ।
सुनसरीबाट तस्करी भएको स्याउमा प्रहरीको संस्थागत सहयोग रहेको पुष्टि भएको छ । उक्त प्रकरणमा संलग्न तल्लो दर्जाका प्रहरीहरुमाथि अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयले छानविन समिति बनाएको थियो । तत्कालिन डिआईजी इश्वरबाबु कार्कीले छानविन समिति गठन गरेका थिए ।
संघीय प्रहरी इकाई कार्यालयका एसएसपी राजेन्द्र चौधरीको संयोजकत्वमा बनेको टोलीले दुई साता लगाएर सईसहित चारजना प्रहरीको संलग्नता देखिएको भन्दै प्रतिवेदन बुझाईसकेको छ । एसएसपी चौधरीको संयोजत्कवमा गठन भएको छानविन टोलीले बुझाएको प्रतिवेदनको आधारमा प्रदेश प्रहरी कार्यालय रिटका सइ घुमुका प्रहरी किरण मोक्तान, श्रीपुर प्रहरी चौकीका सई टेकबहादुर कार्की, सोही चौकीका प्रहरी हल्वदार विरेन्द्रकुमार यादव, अस्थाइ प्रहरी चौकी हरिपुरका असइ भुवराज पोखरेललाई प्रहरी नियमावली अनुसार विभागीय कारवाही गरिएको छ ।
सइ मोक्तानलाई कारवाहीको लागि प्रहरी प्रधान कार्यालयमा प्रदेशले सिफारिस गरेको छ भने असइ र हवल्दारलाई प्रदेशले कारवाही गरेको हो । कारवाहीमा परेका प्रहरीले विभाग कारवाही अनुसार ग्रेड रोक्का र नसियत दिने गरिन्छ ।
अनुसन्धान टोलीले ट्रकका चालक, कारोबार गर्ने कारोबारी, स्याउ तस्करी हुँदा देख्ने केहि प्रत्यक्षदर्शीसँग बयानका आधारमामा र कारोबारी र प्रहरीबीच भएको टेलिफोन सम्पर्कका आधारमा दोषी ठहर गर्दै प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनका आधारमा प्रदेश प्रहरी कार्यालयले कारवाही गर्ने क्षेत्राधिकार भएका प्रहरीलाई कारवाही र प्रधानकार्यालयबाट कारवाही हुनुपर्ने प्रहरीका हकमा सिफारिस गरिसकेको डिआईजी अरुणकुमार बिसीले जानकारी दिए । तत्कालिन भाण्टाबारी प्रहरी चौकीका सइ चन्द्रप्रसाद थापाको तस्करीमा संलग्तनामा नदेखिएकोले निलम्बन फुकुवाको लागि प्रहरी प्रधान कार्यालयमा पत्राचार गरेको डिआइजी बिसीले बताए ।
तत्कालिन डिआइजि कार्की र एसपी थापाको संलग्नताको आशंका
सुनसरीदेखि प्रहरीको संलग्नतामा भएको स्याउ तस्करीको घटनामा माथिल्लो तहका प्रहरी अधिकारीको संलग्नता आशंका गर्दै गृहमन्त्रालयले समेत थप छानविनका लागि चासो देखाएको छ ।
प्रदेश १ का तत्कालिन डिआइजी इश्वरबावु कार्की र सुनसरीका तत्कालिन एसपी कमल थापा सरुवा हुने बेलामा स्याउ तस्करीमा उनीहरूको नाम मुछिएपछि प्रहरी प्रधान कार्यालयले छानविनको लागि चासो देखाएको हो । ‘सुनसरीदेखि भएको स्याउ तस्करीको विषयमा हल्ला सरकारमा पनि उजुरी पुगेको थियो,’ डिआइजी बिसीले भने, ‘यस घटनामा प्रहरी प्रधान कार्यालयले मुख्य चासोको रूपमा हेरिएकोले थप अनुसन्धानका लागि चासो राखेको छ ।’
स्याउ तस्करीको घटनामा प्रदेश प्रहरी कार्यालय अन्तर्गत (रिट)का सही मोक्तानको संलग्नतालाई निक्कै अर्थपूर्ण रुपमा हेरिएको छ । मोक्तानले स्याउ तस्करीको लाइन मिलाउन सुनसरी जिल्लाको फिल्डमा रहेको कोशी कटान र श्रीपुर मातहतका प्रहरीसँग सम्पर्क गरेका थिए । तर, मोक्तान प्रदेश प्रहरी कार्यालय अन्तर्गत (रिट)का इन्स्पेक्टरको योजनामा खटिएको बताइएको छ ।
इन्स्पेक्टरको नेतृत्वमा रिट हुने गर्दछ । त्यसो हुँदा प्रदेश प्रहरी कार्यालयकै योजनामा स्याउ सुनसरी हुँदै तस्करी गराइएको हुनसक्ने आशंकामा थप पुष्टि हुने आधार देखिएको छ । सई घुमुवा प्रहरी मोक्तान यसअघि पनि सुनसरी, मोरङ र झापाका तस्करहरुसँग मासिक असुली गर्ने गरेको स्रोतले जानकारी दिएको छ ।