लोड हुँदैछ...

मेनु

चीनबाट ४० लाख डोज खोप किन्ने तयारी

चीनबाट ४० लाख डोज खोप किन्ने तयारी

काठमाडौं । सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग कोरोना भाइरसविरूद्धको ४० लाख डोज खोप किन्ने भएको छ ।

सिनोफार्मसँग खोप किन्नेबारे मन्त्रिपरिषदले निर्णय गरिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले खोप किन्न लागेकोबारे बुधबार बसेको कोभिड १९ व्यवस्थापन निर्देशक समितिको बैठकमा जानकारी गराएका थिए।

साउनदेखि लगाउन सुरू गर्नेगरी चीनबाट ४० लाख डोज खोप ल्याउन लागिएको सरकारले जनाएको छ । यसअघि सरकारले भारतकै भर परेर चिनबाट खोप खरिदको प्रक्रिया अगाडि बढाएको थिएन । चीनले २ पटक गरि १८ लाख डोज खोप अनुदानमा दिएको छ ।

सिनोफार्मसँग सुरूमा १० लाख डोज खोप र त्यसपछि बाँकी ३० लाखमध्ये ५–५ लाखका दरले खोप ल्याउने तयारी भएको स्रोतले जनाएको छ । चिनियाँ कम्पनीले खोप उपलब्ध गराउने सुनिश्चितता दिएको सरकारले जनाएको छ ।

पहिलो लटको १० लाख डोज खोप केही समयमै नेपाल आउने र साउनदेखि लगाउन सुरू गर्ने सरकारको तयारी छ । खोप कसरी, कुन मूल्यमा किन्न लागिएको हो भन्नेबारे सरकारी अधिकारीहरूले अहिलेसम्म केही खुलाएका छैनन्। चीनले खोपको मुल्य सार्वजनिक गर्न नमिल्ने सर्त राखेको बताइएको छ ।

नेपालले कोरोनाविरूद्धको खोप किन्न लागेको यो दोस्रो पटक हो। यसअघि भारतको सेरम इन्स्टिच्युटसँग नेपालले २० लाख डोज खोप किन्ने सम्झौता गरेकोमा १० लाख डोज खोप आएपछि ६५ वर्ष माथिकालाई लगाउन सुरू गरिएको थियो। सेरमले बाँकी १० डोज खोप दिन अस्वीकार गरेपछि अहिले कोभिसिल्डको पहिलो डोज लगाएका झन्डै १४ लाख मानिस दोस्रो डोज खोपबाट बञ्चित छन् ।

अष्ट्राजेनेका खोप किनेर राखेका क्यानडा, डेनमार्कलगायत मुलुकसँग नेपाललाई खोप दिन अनुरोध गरेकोको भएपनि ठोस प्रगति भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।