पोखरा। राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई फेरि पदमुक्त गरेको छ ।
यसअघि सो पार्टीले पदमुक्त गरेका सांसद थापाको पद सर्बोच्च अदालतको अन्तरिम आदेशबाट थमौती भएको थियो । तर, बिहीबार पार्टीले लगाएको हृवीप उल्लंघन गरेकाले थापालाई पदमुक्त गरिएको जनेमार्चाकी प्रदेशसभा सचेतक पियारी थापाले जानकारी दिएकी छन् ।
विश्वासको मत लिने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रस्तावमा बिहीबार प्रदेशसभामा मतदान हुँदा जनमोर्चाले विपक्षमा मतदान गर्न तथा तटस्थ नबस्न हृवीप जारी गरेको थियो । तर, प्रदेशसभा सदस्य थापा तटस्थ बसेका थिए ।
यसअघि नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनाउन हस्ताक्षर नगरेपछि जनमोर्चाले उनलाई पदमुक्त गरेको थियो । तर, सर्बोच्च अदालतले ह्विप नलगाएको अवस्थामा पदमुक्त गर्ने प्रक्रिया नमिलेको भन्दै उनले दायर गरेको रिटको पक्षमा अन्तरिम आदेश दिएको थियो ।
जेठ २० गते जनमोर्चाले थापालाई पदमुक्त गरेको थियो । तर, थापाले वैशाख १२ मा जारी भएको निर्देशन १५ गतको मतदानका लागि भएको र २७ गते हुने भनिएको मतदान मुख्यमन्त्रीको राजीनामाका कारण हुन नसकेकाले नयाँ सरकार गठनको पक्षमा पुरानो हृवीप नलाग्ने दाबी गर्दै थापा सर्वोच्च अदालत गएका थिए ।
रिटको प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई पुनर्वहाली गर्न अन्तरिम आदेश दिएको थियो । एउटा खास कामका लागि जारी भएको हृवीप, सो खास कार्य हुन नसकी परिस्थिति परिर्वतन भएको स्थितिमा भएको कामबाट राजनीतिक दलसम्बन्धी ऐन उल्लंघन भई दल त्याग भएको मानिन सक्छ कि सक्दैन भन्ने कानूनी व्याख्याको विषय भएको अन्तरिम आदेशमा उल्लेख थियो।
यो पटक भने ह्विप उल्लंघन भएको कारण थापालाई पदमुक्त गरेको जनमोर्चाले जनाएको छ । जनमोर्चाले कारबाहीको जानकारी प्रदेशसभालाई गराएको छ । प्रदेशसभाको शुक्रबारको बैठकमा थापालाई पदमुक्त गरेको सूचना सभामुखले सुनाएका छन् ।