विराटनगर । सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
मंगलबार मुख्यमन्त्रीले विश्वासको मत लिन राखेको प्रस्तावको पक्षमा ३० मत परेको छ भने विपक्षमा ९ मत मात्र परेको छ । यस्तै १२ जनाले मतदानामा भाग लिएनन् ।
मुख्यमन्त्री भट्टले प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेश गरेपछि सभामुखले निर्णयार्थ पेश गर्दा उनको पक्षमा बहुमत पुगेको हो ।
मुख्यमन्त्री भट्टले बहुमत गुमाएकोले राजिनामा दिनुपर्ने माग नेकपा एमालेका केहि सांसदले गरेपछि उनले विश्वासको मत लिँदा एमालेकै सांसदले बहुमत जुटाईदिएका छन् ।
मुख्यमन्त्रीलाई माओवादीसहित एमालेले समर्थन गर्ने निर्णय औपचारिक निर्णय गरेको थियो भने काँग्रेसले आवश्यकताअनुसार विश्वासको मत दिने निर्णय गरेको थियो । मुख्यमन्त्रीको पक्षमा विश्वासको मत पुग्ने भएपछि काँग्रेस मतविभाजन प्रक्रियामा सहभागी भएन ।
सुदुरपश्चिम प्रदेशको ५२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक हुन्थ्यो । मंगलबारको बैठकमा ५१ प्रदेशसभा सदस्य उपस्थित रहेकोमा मुख्यमन्त्रीले ३० मत प्राप्त गरेका हुन् ।
प्रदेशसभामा मुख्यमन्त्री भट्टको दल नेकपा माओवादी केन्द्रका १३ सांसद छन् । एमालेका २५ सांसद थिए । तीमध्ये १७ जनाले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन् ।