विराटनगर ।पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोको एक गाउँमा भएको आतंककारी हमलामा १३२ जनाको मृत्यु भएको छ ।
आतंककारीले गरेको अन्धाधुन्ध आक्रमणमा ज्यान जानेमध्ये ७ जना बालबालिकासमेत रहेको बुर्किना फासो सरकारले जनाएको छ ।
बीबीसीका अनुसार रातमा बन्दुकधारीहरूले मुलुकको यागा प्रान्तमा पर्ने साहेल क्षेत्रको सोलन भन्ने गाउँमा आक्रमण गरेका थिए । अन्धाधुन्ध गोली प्रहारसँगै उनीहरूले घर र स्थानीय बजारहरू समेत जलाइदिएको बताइएको छ ।
बुर्किना फासो सरकारले यो घटनालाई हालका वर्षहरुमा भएको सबैभन्दा ठूलो आक्रमण मानेको छ । आक्रमणको लागि अहिलेसम्म कुनै कट्टरपन्थी समूहले जिम्मेवारी लिएको छैन ।
इस्लामी कट्टरपन्थी समूहको आक्रमणले देशको सीमावर्ती क्षेत्रहरु, विशेष गरी नाइजर र मालीको सिमाना अशान्त हुने गरेकोले सोही समूहले आक्रमण गरेको हुनसक्ने आकलन गरिएको छ । खासगरी नीजेर र मालीसँग जोडिएका क्षेत्रमा त्यस्ता घटनाहरू सामान्य भइरहेका छन्। बुर्किना फासोले आफ्ना छिमेकी राष्ट्रहरूमा जस्तै गहिरिँदै गएको सुरक्षा सङ्कटको सामना गरिरहेको छ।
घटनाको संयुक्त राष्ट्र प्रमुख एन्टोनियो गुटेरेसले निन्दा गरेका छन् । हिंस्रक चरमपन्थ र यसविरुद्ध भएका मृत्यु विरुद्ध लड्नेबारे सहयोग गर्न सबै देशहरूसँग राष्ट्रसंघले आह्वान गरेको छ । बुर्किना फासोका राष्ट्रपति रक क्याबोरले घटनापछि तीन दिन राष्ट्रिय शोक घोषणा गरेका छन्।
सुरक्षाकर्मीहरूले आक्रमणकारीको खोजी गरिरहेको जानकारी सरकारले जनाएको छ ।
शस्त्र समूहहरूले छापा मार्ने र अपहरण गर्ने जस्ता गतिविधि गर्दै आएका छन्। फ्रान्सेली फौजले माली, चाड, मोरीटेनीया, नीजेर र बुर्कीना फासोका सैनिकलाई अतिवादीहरूसँग लड्न सहयोग गरिरहेका छन्।